सोल-दक्षिण कोरियामा भोकमरीका कारण आमा छोराको मृत्यु भएको समाचार मंगलबारका पत्रपत्रिकाले छापेका छन् ।
सोलको दक्षिण पश्चिम स्थित बोंगछन् दोङ्गमा रहेको अपार्टमा ४२ बर्षीय हान र उनको ६ बर्षे छोरा किम मृत अवस्थामा भेटिएका हुन् ।
त्यहाँको खानेपानी कार्यालयमा लामो समय बिल भुक्तानी नगरेपछि कर्मचारीहरु पानीको मिटर कटौती गर्न जादा गन्ध आएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार त्यहाँ आत्महत्याको कुनै संकेत फेला परेको छैन ।
अनुसन्धान गरिरहेका प्रहरीले आमा छोराको मृत्यु दुई महिना अघि नै भएको हुन सक्ने बताएको छ ।
प्रहरीले मृत्युको कारण अनुसन्धान गरिरहे पनि अपार्टमेन्टमा खाने कुरा केहि नभेटिएकाले भोकमरीको कारण उनीहरुको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।
समाचार अनुसार मृतक हान उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएकी थिइन् । उनले एकजना कोरियन-चिनियाँ पुरुष संग बिबाह गरेर छोरा जन्माएका थिए ।
बिबाह पश्चात चीन गएका उनीहरुको सम्बन्ध विच्छेद पछि, हान छोरासंग गत वर्षको अन्तमा दक्षिण कोरिया फर्किए र चरम गरीबीमा बाँचिरहेकि थिइन् ।
मृत आमा छोराको शव परीक्षण भैरहेको समाचारमा जनाइएको छ ।
यो खबर हटपाटी डटकमबाट लिईएको हो।