काठमाण्डौ – काठमाण्डौबाट नौ जना विदेशी पर्यटकसहितको गाडी लिएर पर्यटक गाइड विरोध बुर्लाकोटी बिहान साढे ८ बजे ठमेलबाट पोखराको लागि हिँ*ड्नुभएको थियो । उहाँलाई नागढुंगा पुग्नै २ घण्टाजति लाग्यो । नागढुंगा नपुग्दै नै पर्यटकहरु छटपटिन थालेका थिए । तर नागढुंगाभन्दा तलको बाटोमा जामको कुरा गरिसाध्ये थिएन । जामको कुनै खास कारण थिएन । साँघुरो बाटोमा ठूला गाडी र साना मोडमा गाडीको गति कम हुँदा सयौँ गाडी जाममा थिए । नेपालीलाई भन्दा पनि विदेशी पर्यटकलाई सम्झाउनै मुश्किल परेको गाइड बुर्लाकोटीको भनाइ छ ।
पर्यटकलाई शौचालयको समस्या भयो । बाहिर शौच नगर्ने उनीहरु यात्राबाट आत्तिएका थिए । बल्लतल्ल भेटिएको शौचालयमा २० रुपैयाँ प्रतिव्यक्तिका दरले शौचालय गराएको बुर्लाकोटीले बताउनुभयो । भोक लागेर पनि पर्यटकले हैरानी बेहोरेका थिए । ‘बाटोमा राम्रा होटल पनि थिएनन्, पर्यटकले निकै नरमाइलो मानिरहेका थिए’, बुर्लाकोटीले भन्नुभयो, ‘केही पर्यटकले त कुनै देशको मुख्य राजमार्ग यस्तो हुन्छ ? भन्ने प्रश्न गरिरहेका थिए ।’बल्लबल्ल जाम छिचोल्दै उहाँ साढे ३ बजे मात्रै नौबिसे पुग्नुभएको थियो । बेलुका साढे पाँच बजे मात्रै उहाँ मलेखु पुग्नुभयो ।
उहाँलाई काठमाण्डौबाट मलेखु पुग्न ९ घन्टा भन्दा धेरै समय लाग्यो । पछिल्लो हप्तादेखि नागढुंगाबाट मलेखुसम्मको सडकका गाडीको जाम बढ्दै जाँदा हजारौँ यात्रुले समस्या भोगिरहेका छन् । साँघुरो सडकमा ठूला–ठूला मालवाहक गाडी बिस्तारै हिँड्दा र एउटा गाडी बिग्रँदा पनि राजमार्ग नै ठप्प हुने गरेको छ ।‘जाम हुन खासै कारण नै चाहिन्न, एउटा सानो गाडी बिग्रियो भने पनि एकैछिनमा सयौँ गाडी थुप्रिन्छन्, जाम बढेपछि धेरै समयसम्म समस्या पर्छ’, नागढुंगाका ट्राफिक प्रहरी प्रमुख विदुरमणि भट्टराईले भन्नुभयो ।
