बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति रौनियार बर्खास्त गर्न सिफारिस

मुख्य समाचार

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गरिएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि बसेको ४२ औं सिनेटको बैठकले प्रा.डा. रौनियारलाई बर्खास्त गरेको सिनेटर धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । ‘बैठकबाट निस्कदै छु । बर्खास्त गरेको हो ।’ उनले फोनसम्पर्कमा भनिन् ।

प्रा.डा. गुरु खनाललाई कार्यबाहक उपकुलपतिको जिम्मेवारी दिने निर्णय सिनेटले गरेको छ । खनाल हाल शिक्षाध्यक्ष हुन् । ४२ औं सिनेटका लागि सहकुलपति स्वास्थ्यमन्त्री उपेन्द्र यादबले बिहीबारै बैठक बोलाएका थिए । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको दुखद् घटना भएपछि दिइएको शोक बिदाका कारणले शुक्रबारका लागि सारिएको थियो ।

बीपी प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानबिनको आधारमा आएको २ वटा प्रतिवेदनलाई नै आधार मानेर बर्खास्त गरिएको रजिष्टार तुलबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिवेदनसँगै प्रधानमन्त्री, मन्त्रीले दिएको निर्देशनको अवज्ञा गरेका कारणले बर्खास्त गरिएको हो ।

शिक्षाध्यक्ष खनाललाई कार्यबाहक उपकुलपति दिने निर्णय भएको उनले बताए । ‘पदभार नै ग्रहण गरिसकेको होइन, उहाँलाई दिने भन्ने सिनेटमा निर्णय भएको छ ।’ उनले फोनमार्फत् भने ।

प्राडा रौनियारलाई बर्खास्त गरिएकाे भनिए पनि बर्खास्त गर्न सिफारिस गरिएकाे हाे । बर्खास्त गर्ने अधिकार प्रधानमन्त्रि तथा कुलपति केपी ओलीसँग रहेको छ । सिनेटले गरेको सिफारिसलाई अध्ययन गरेर उनलाई हटाउने नहटाउने भन्ने विषयमा प्रधानमन्त्रिले निर्णय लिने ऐनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *