नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दक्षिण कोरियामा छन् । दक्षिण कोरियाको राजधानी सउल देखि २ सय ६८ किलो मिटर दक्षिणको ख्वाङ्जु शहरमा बुधबार देखि सुरु भएको अन्तराष्ट्रिय विद्युतिय सम्मेलन (विक्सपो) २०१९ मा भाग लिनका लागि उनी यहाँ आएका हुन् ।कोरिया इलेक्ट्रोनिक पावर कर्पोरेसनको आयोजनामा भैरहेको विक्सपो शुक्रबारसम्म चल्नेछ ।
सो कार्यक्रमा घिसिंङले नेपालको विद्युतिय क्षेत्रमा लगानी गर्न चाहने विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गर्नेछन् ।विश्व भरिकै विद्युतिय क्षेत्रमा भैरहेको प्रगति र समस्याका बारेमा छलफल गर्न विगत पाँच बर्ष देखि विक्सपो भैरहेको छ । डिजिटल प्लाटफर्म भन्ने मुख्य नारा रहेकोे यस पटकको सम्मेलनमा विश्वका विद्युतिय क्षेत्रमा काम गर्ने संस्थाहरुको सहभागिता रहेको छ ।
नेपालको विद्युत क्षेत्रमा कोरियामा रहेका नीजि कम्पनीहरु इच्छुक भएको कोरियामै विगत ६ वर्ष देखि काम गरिरहेका विद्युतिय इन्जिनियर कुशाङ शेर्पाले बताए । ‘नेपालको जलस्रोतमा लगानी गर्न सक्ने धेरै कम्पनी छन् । विभिन्न चरणमा छलफल भैरहेको छ । अहिले कोरियामा रहेको नेपाल विद्युत प्राधिकरणको टोलीसँग पनि छलफल हुन्छ ।’ उनले भने ।
घिसिङ शुक्रबार दक्षिण कोरियाको राजधानी सउलमा आउने छन् ।
उनले सउल क्षेत्रमा रहेका नेपालहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा एनआरएनए, नेपाल आदिबासी जनजाति महासंघ, नेपाल तामाङ संघ, रामेछाप सम्पर्क समिति, एनसीसी, प्रदेश नं. ३ एकता समाज लगाएतका संघ संस्थासँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।भेटघाट तथा छलफल कार्यक्रम दोङदेमुनको दर्शन नमस्ते रेष्टुरेन्टको सभा हलमा बेलुकी ८ बजेबाट सुरु हुनेछ । उनी शनिबार नेपाल फर्कने छन् ।
फोनिज कोरियाबाट