ब्यारेक आक्रमण गरि रोल्पाबाट खोसेको हतियार धरानबाट बरामद

मुख्य समाचार

विराटनगर/ धरान उपमहानगरपालिका – ६ पानमाराबाट सुनसरी प्रहरीले बरामद गरेको अत्याधुनिक हतियार तत्कालिन माओवादीले द्वन्द्वकालमा रोल्पास्थित नेपाली सेनाको ब्यारेक आक्रमण गरेर खोसेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ ।
सानेले मात्र प्रयोग गर्दै आएको ‘एलएमजी’ र ‘एम–१६’ हतियार सहित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कोशी व्यूरो सदस्य सन्दिप भनिने देवकुमार लिम्बुलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा बरामद हतियार ‘एलएमजी’ रोल्पा स्थित नेपाली सेनाको ब्यारेक आक्रमण गरेर खोसेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले बरामद गरेको अर्को हतियार ‘एम–१६’ भने कहाँबाट आक्रमण गरेर खोसेको त्यो भने खुलि नसकेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । ‘हामीले चौतर्फी रुपमा अनुसन्धान गर्दै आएका छौं,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘बरामद भएको एलएमजी हतियार सशस्त्र द्धन्द्धको समयमा रोल्पाबाट खोसेको खुलेका छ । अर्को हतियार एम १६ कहाँबाट खोसेकोे त्यो भने खुलि सकेको छैन । हामी अनुसन्धानकै क्रममा रहेकोले त्यो पनि चाँडै खुल्नेछ ।’ इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका मेजरको नेतृत्वको टोलीले समेत बरामद भएको एलएमजी हतियार रोल्पाबाट नेपाली सेनाको ब्यारेक आक्रमण गरेर खोसेको प्रहरीका अधिकारीहरूलाई जानकारी दिएको सुरक्षा स्रोतको दाबी छ ।
हत्याधुनिक हतियार सहित लिम्बुलाई प्रहरीले पक्राउ गरेपछि प्रहरीले विशेष अनुसन्धान टोली बनाएर अनुसन्धान गर्दै आएको छ । प्रहरीले लिम्बूको साथबाट बरामद गरिएको हतियार कहाँ देखि आयो र के प्रयोजनमा ल्याइयो भन्ने बिषयमा सुरक्षा निकायले सुक्ष्म रुपमा अनुसन्धान गर्दै आएको बताइएको छ ।

यी दुवै हतियार नेपाली सेनाले प्रयोग गर्दै आइरहेको छ । अमेरिकामा निर्मित एम १६ राइफल नेपाली सेनाले माओवादीसँग युद्धकै क्रममा खरिद गरेको थियो । हतियार सहित पक्राउ परेका लिम्बूलाई सुनसरी अदालतमा बिहीबार म्यात थप गरि धरान स्थित ईलाका प्रहरी कार्यालयमा राखिएको सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए । धरानमै राखेर हतियार र लिम्बूको बिषयमा अनुसन्धान गर्दै आएको एसपी अधिकारीले बताए ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी केदार रिजालले प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको र हरेक प्रकारका गतिविधिमा निगरानी बढाइएको बताए । ‘लिम्बूमाथि अनुसन्धान भइरहेको छ । यो सबै कुरा अनुसन्धानपछि खुल्ला,’ डीआईजी रिजालले भने । पछिल्लो समय सुरक्षा निकायलाई विप्लव समूहले तत्कालीन युद्धमा प्रयोग भएका तर लुकाइएका हतियार बाहिर निकाल्न खोजेको सूचना पुगेको बताइएको छ ।

नेपाली सेनाले मात्रै प्रयोग गर्ने हतियार विप्लवका नेता–कार्यकर्तासँग फेला परेको यो पहिलो घटना भएको प्रहरी अधिकारी बताउँछन् । नेपाली सेनासँग मात्र भएको एम १६ र सशस्त्र प्रहरीले पनि प्रयोग गर्ने एलएमजि हतियार द्वन्दकालपछि बरामद भएको यी दुवै अत्याधुनिक हतियार हो ।
प्रहरीले लिम्बुलाई नियमित चेकजाँचमा खटिएको प्रहरीको टोलीले मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका दुईजनामाथि चेकजाँच गर्ने क्रममा उक्त हतियार बरामद गरेका थियो । प्रहरीले हतियार बरामद गरेपछि विप्लवका एकजना कार्यकर्ता भने भाग्न सफल भएका छन् । उनी खोजी भइरहेको प्रहरीले जनाएको छ । हतियार ओसारपसार भइरहेको सूचनाका आधारमा केही दिनदेखि सुनसरीका विभिन्न स्थानमा प्रहरीले आकस्मिक चेकजाँच र निगरानी बढाएको छ ।

पक्राउ गरिएको लिम्बुलाई जिल्ला अदालत सुनसरीबाट ६ दिनको म्याद थप गरि थप अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अनुसन्धानका लागि काठमाण्डौबाट डिएसपीको कमाण्डामा विशेष व्युरो टोली खटिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *