कोरियामा जिवनबारे पाठ सिकाउन नक्कली दाहसँस्कार!

कोरिया समाचार

एजेन्सी । दक्षिण कोरियामा एउटा कम्पनीले निःशुल्क दाह संस्कारको सेवा प्रदान गरिरहेको छ । तर आश्चर्यजनक सो सेवा मृतका लागि नभएर जिवित मानिसहरुलाई जीवनबारे पाठ सिकाउनका निम्ति रहेको बताइएको छ । मृत्युलाई नजिकबाट अनुभूति गर्नुले व्यक्तिलाई धेरै कुरा सिकाउने विश्वास सहित यस्तो सेवा प्रदान गरिँदै आएको छ । हालसम्म यस जिवित दाहसंस्कार कार्यक्रममा २५ हजार भन्दा धेरैले सहभागिता जनाइसकेका छन् ।

हालै मात्र कार्यक्रममा सहभागी भएकी ७५ वर्षीया छो जे ही भन्छिन्, “मृत्युका बारेमा हामी सचेत हुन थालेपछि जीवनप्रतिको हाम्रो धारणा बदलिन्छ र हामीले यो संसारलाई नयाँ दृष्टिले हेर्न सुरु गर्छौँ ।” यसमा वृद्धदेखि किशोर, किशोरीहरु सबै सहभागी हुने गरेका छन् जसले नक्कली अन्त्येष्टिकै लागि असली फोटो खिचाउने र अन्तिम भनाइ समेत लेख्ने गरेका छन् भने त्यसपछि १० मिनेटसम्म मृत शरीर राखिने बाकस, कोफिनमा सुत्ने गरेका छन् ।

विश्वविद्यालयमा अध्ययनरत छात्र छोइ जिन–क्युले यो आफ्नो पहिलो अनुभव भएको बताए । उनका अनुसार कोफिनमा सुत्नुले उनलाई आफूले जीवनभर सबैलाई प्रतिस्पर्धीका रुपमा मात्र हेरेको आभास गरायो । उनी भन्छन्, “जब म कोफिनमा थिएँ, मैले सोचेँ त्यो सबै केका लागि ?” त्यसैले २८ वर्षीय उनी प्रतिस्पर्धात्मक बजारमा प्रवेश गर्नुको सट्टा स्नातक उत्तीर्ण भएपछि अब भने आफ्नै व्यवसाय खोल्न चाहन्छन् । दक्षिण कोरिया विश्वकै सबैभन्दा शिक्षित जनसङ्ख्या भएको देशमा पर्दछ । यस्तोमा अहिलेका युवाहरुमा पढाइ र रोजगार सम्बन्धी उच्च अपेक्षा रहेको छ तर गिर्दो अर्थतन्त्र र बढ्दो बेरोजगारीले धेरैका सपना अधुरै बनाइदिएको छ ।

यसबारेमा असन मेडिकल सेन्टरकी प्रोफेसर यु उनसिल भन्छिन्, ‘सानै उमेरदेखि मृत्युका बारेमा जानिराख्न र त्यसका लागि तयार रहन महत्वपूर्ण छ । ’ उनले मृत्यु सम्बन्धी किताब पनि लेखिसकेकी छन् । २०१६ मा दक्षिण कोरियाको आत्महत्या दर प्रति एक लाख जनसङ्ख्यामा २०.२ रहेको थियो । सो तथ्याङ्क विश्वभरको औसत आत्महत्या दर भन्दा दुई गुणा बढी रहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

यसरी ह्योवन दाह संस्कार कम्पनीले मानिसहरुलाई जीवनको कदर गर्न सिकाउनुका साथै माफी अनि परिवार साथीभाइसँग मेलमिलापको भावना राख्न समेत प्रोत्साहन गर्ने गरेको छ । हिलिङ सेन्टरका प्रमुख जङ यङमुन जोङका अनुसार उनलाई मानिसहरु आफन्तको अन्त्येष्टिमा मात्र भेला भइ मेलमिलाप गर्ने गरेको देख्दा अत्यन्त दुःख लाग्ने गर्दछ । उनीहरुले यसका लागि त्यति धेरै समय पर्खिएका प्रति आफूलाई सधैँ नराम्रो महसुस हुने उनी बताउँछन् । उनी भन्छन्, “हामीसँग असिमित समय छैन । त्यसैले पनि यस किसिमको अनुभव सबैका लागि महत्वपूर्ण छ जस्तो मलाई लाग्छ । जसले हामीलाई चाँडै माफी माग्न, मेलमिलाप गर्न र बाँकी जीवन खुसी भएर बिताउन प्रेरित गर्छ । ”

उनी भन्छन्, “म सबैलाई आभास गराउन चाहान्छु उनीहरुको जीवन अरुका लागि पनि मूल्यवान् छ र तिनको मृत्युले अरु दुःखी हुनेछन् र धेरैको जीवनमा प्रभाव पर्नेछ । खुसी भनेको वास्तवमै वर्तमानमा छ ।” व्यक्तिगत मूल्यबारे सबै जानकार रहनुपर्ने पनि उनले बताए । उनले आफूले आत्महत्या गर्न सक्षम धेरै मानिसहरुसँग अन्र्तक्रिया गरेको पनि बताए र आफूले तिनको निर्णय बदल्न सफल भएको बताएका हुन् । रोयटर्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *