नेपाल-भारत पारवहन सन्धि संशोधन मस्यौदा, भारतको जलमार्ग उपयोग गर्ने सहमति

मुख्य समाचार

काठमाडौं : नेपाल-भारत पारवहन सन्धि संशोधन हुने भएको छ । सन्धि पुनरवलोकन गर्न मंगलबार र बुधबार बसेको सहसचिवस्तरीय बैठकले संशोधनको मस्यौदा तयार पारेको हो । मस्यौदामा नेपालको पारवहनका लागि आन्तरिक जलमार्ग उपयोग गर्ने व्यवस्था राख्न दुवै पक्ष

सहमत भएका छन् ।नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतका तर्फबाट वाणिज्य तथा उद्योग मन्त्रालयका अतिरिक्त सचिव भुपिन्द्र यस भल्लाले नेतृत्व गरेका थिए । हालसम्म पारवहन सन्धि, सोको प्रोटोकल र समझदारी संशोधन गर्न विभिन्न चरणमा आदानप्रदान भएको लेटर अफ एक्सचेन्जलाई एकीकृत गरी नयाँ मस्यौदा तयार गरेको सहसचिव ढकालले जानकारी दिए । उनका अनुसार पारवहन सन्धि, सोको प्रोटोकल र समझदारीका व्यवस्थामा समावेश गरी नेपाल–भारत पारवहन सन्धि र सोको प्रोटोकलको नयाँ मस्यौदा तयार गरिएको छ । २०७५ साल वैशाख महिनामा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर–सरकारी समितिको बैठकमा नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन गर्ने सहमति भएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीस्तरबाट भएको निर्देशनका आधार उक्त बैठक बसेको सहसचिव ढकालले जानकारी दिए । नेपालको पारवहनका लागि आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग सञ्चालनका व्यवस्था नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गर्ने सहमति भएको हो ।

सो मस्यौदामा बहुविधिक ढुवानी रुट, ढुवानीका प्रक्रिया र व्यवस्था, भन्सार सहजीकरण र नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनका व्यवस्था नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गर्ने सहमति भएको छ ।रेलमार्फत बल्क कार्गो ढुवानीका लागि वीरगज–रक्सौल नाकाका अतिरिक्त विराटनगर–जोगबनी र भैरहवा–सुनौली नाका समेत खुला गर्ने गरी पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गरेको छ । सहसचिव ढकालले भने, ‘कन्टेनरमा हालेर ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । मल जस्ता सामान बल्क कार्गोमै ढुवानीमा ल्याउनुपर्ने भएकाले सजिलो हुने भएको छ ।’
नेपाल–भारत पारवहन सन्धिको सन्धिको म्याद सन् २०२० जनवरी ५ देखि लागू हुने गरी स्वतः विकरण हुने भएको छ । बैठकमा दुवै मुलुकले आन्तरिक प्रक्रिया पूरा गरी अन्तिम रूप दिइएको पारवहन सन्धि र सोको प्रोटोकलमा सबै पक्षबाट यथासीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ ।

अन्योलका प्रस्ताव :
नेपालले पारवहन विविधीकरण गर्न भारतका थप २ बन्दरगाह धासा र मुन्द्रा नेपालका लागि खुला गर्न गरेको प्रस्ताव गरेको थियो । भारतका तर्फबाट दुवै बन्दरगाह खुला गर्न आन्तरिक छलफल भइरहेको बताएको छ ।

यस सम्बन्धमा भारतीय पक्षले यथासीघ्र राय सुझाव पठाउने सहमति भएको उनले जानकारी दिए । तेस्रो मुलुकसँग भारतीय भूमि हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली लागू गरी ट्रान्सिप्मेन्ट प्रक्रिया लागू गर्न नेपालले प्रस्ताव छ । यसमा पनि भारतीय पक्षले आन्तिरक छलफल गरी धारणा पठाउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *