काठमाण्डौ -नेपालमा चारपांग्रे गाडी एसेम्बल गर्ने सम्झौता गरेको कोरियाली कम्पनी मोट्रेक्सले किया र हुन्डाईका गाडी एसेम्बल गर्ने भएको छ ।
मोट्रेक्सले किया र हुन्डाईका गाडी एसेम्बल गर्ने जानकारी दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । ‘उनीहरुले किया र हुन्डाईका गाडी एसेम्बल गर्ने जानकारी दिएका छन्, उनीहरुले कुन कम्पनीको गाडी एसेम्बल गर्छन भन्नेमा हाम्रो धेरै चासो रहँदैन’, अधिकारीले भन्नुभयो ।
मोट्रेक्सले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरेको ३६ महिनाभित्र उत्पादनको काम थालिक्नुपर्नेछ । ईआईएका लागि बढीमा एक वर्ष लाग्नेछ । यसरी हेर्दा ४ वर्षमा नेपालमा गाडी एसेम्बलको काम सुरु हुन सक्ने देखिएको बोर्डले जनाएको छ ।
नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने भन्दै लगानीको अनुमति मागेको कोरियाली कम्पनी मोट्रेक्ससँग बुधबार नै परियोजना लगानी सम्झौता भएको छ ।
लगानी बोर्ड नेपाल र मोट्रेक्सका प्रतिनिधिबीच बुधबार प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट (पीआईए)मा सम्झौता भएको हो । सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र मोट्रेक्सका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
लगानी बोर्डले पहिलो चरणमा १ सय ५ मिलियन अर्थात झण्डै ११ अर्ब ९० करोड रुपैयाँ लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको जनाएको छ ।