काठमाडौं : पटक–पटक टुक्रँदै मिल्दै आएका पूर्वपञ्च फेरि एक भएका छन्। कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शमशेर जवरा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच बुधबार एकता घोषणा भएको छ। एकतापछिको पार्टीमा
तीनै जना अध्यक्ष भएका छन्। पार्टी एकता घोषणासभामा तीनै अध्यक्षले गीतामाथि हात राखेर पार्टी नफुटाउने प्रतिबद्धता जनाएका छन्। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले घोषणासभामा व्यक्तिभन्दा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे। ‘अहिले पार्टी बलियो बनाउने समय हो, नेता महत्वाकांक्षी हुने बेला होइन, व्यक्तिभन्दा पार्टी बलियो बनाउनुपर्छ’, चन्दले भने, ‘नेतृत्वले सबैलाई सन्तुष्ट बनाएर अगाडि बढ्न जरुरी छ।’अब कहिल्यै नफुट्ने÷नछुट्ने संकल्प गरी आफूहरू अगाडि बढेको अध्यक्ष थापाले बताए। ‘त्यो बेला पार्टी एकताको ६ महिनामै पार्टी फुट्यो, कसले फुटायो किन फुटायो म भन्दिनँ, यो भन्ने बेला पनि होइन’, उनले भने, ‘अहिले फेरि पार्टी एकता भएको छ, यो एकता कुनै देशी÷विदेशीको दबाब र प्रभावमा भएको होइन।’
राप्रपाकै अन्तरिम विधानलाई एकीकृत पार्टीको विधान बनाउने र गाईसहितको पुरानै चिह्नलाई नयाँ पार्टीको झण्डा बनाउने सहमति भएको छ। चुनाव चिह्नका विषयमा भने सहमति भइसकेको छैन। एकीकृत नयाँ पार्टीका लागि ५५/४५ प्रतिशतका आधारमा जिम्मेवारी बाँडफाँट गरिने छ। अर्का अध्यक्ष डा.लोहनीले राप्रपा विभाजन भएकै कारण जनताले विश्वास नगरेको बताए। ‘प्रजातान्त्रिक शक्ति एक भएका बेला जनताले साथ दिएका छन्’, उनले भने, ‘विभिन्न क्षेत्रमा काम गर्ने सबै मानिसको एउटै प्रश्न हुन्थ्यो, तपाईंहरू किन नमिल्नुभएको, देशमा तपाईंहरूको खाँचो छ।’गत शनिबार दुवै पार्टीबीच एकताको सहमति भएको थियो। एकताका लागि वार्ता अगाडि बढिरहेकै बेला नयाँ पार्टीको विधानमा दुवै पक्षबीच विमति देखिएको थियो। लोहनीले नयाँ पार्टीका लागि नयाँ विधान तयार पार्नुपर्ने अडानमा थिए भने थापाले राप्रपाकै विधानलाई संशोधन गरी विधान बनाउनुपर्ने मतमा थिए।
यही विवादका कारण एकताको अन्तिम चरणमा पुगेको वार्ता प्रक्रिया रोकिएको थियो। दुवै पक्ष राप्रपाको अन्तरिम विधानलाई पार्टी विधान मान्ने सहमत भएपछि एकता सम्भव भएको हो।एकता घोषणासभामा अर्का अध्यक्ष जबराले अब राप्रपा दुई तिहाइको बहुमत प्राप्त गर्नेतर्फ लाग्नुपर्ने बताए। ‘जनताको मागलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि एक भएको छ, अब दुई तिहाइ बहुमततिर अगाडि बढ्नुपर्छ’, जबराले भने। टुटफुटको शृंखला स्थापनाकालदेखि नै राप्रपाले पटक–पटक जुट र फुटको नियति व्यहोर्दै आएको छ।
राजसंस्थाको छायामा ०४७ जेठ १५ गते स्थापनाकै दिन फुट व्यहोर्यो। पार्टी स्थापनाको दुई वर्षपछि अर्थात् ०४९ सालमा दुवै राप्रपा एक भए। ०५४ सालमा एकीकृत पार्टी पुनः विभाजन हुन पुग्यो। ०५४ सालमै सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला राप्रपा फुट्यो। लोकेन्द्रबहादुर चन्दले राप्रपा फुटाएर राप्रपा (राष्ट्रवादी) गठन गरे। राप्रपा ०५६ सालमा पुनः एकीकृत भयो। तर, एउटा पक्ष पार्टी एकतामा असन्तुष्ट रह्यो। असन्तुष्ट नेता राजेश्वर देवकोटाले राप्रपा (राष्ट्रवादी)लाई जीवितै राखे। ०६२ पुस २६ गते थापाले राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरे।