कोरोना संक्रमण फैलिन नदिन अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने

राष्ट्रिय समाचार

काठमाडौँ-सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्थालाई कडाई गर्ने भएको छ ।कोरोना संक्रमणको पछिल्लो अवस्था हेरेर सरकारले अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने रणनीति लिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर

विकास देवकोटाले संक्रमण फैलावटको प्रकृति हेरेर सरकारले अनिवार्य क्वारेन्टाईनको व्यवस्था कडाईका साथ पालना गराउने विषयलाई प्राथमिकतामा राखेको बताए ।अहिले देखिएका संक्रमितहरु सबै मुलुकभित्रका नभई बाहिरबाट आएका व्यक्ति भएको र उनीहरुबाट परिवार लगायत नजिकको सम्पर्कमा आएका अन्यमा सरेको नदेखिएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको पनि उनले स्पष्ट पारे ।

उनले विदेशबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टाईनमा राख्न सकेमा संक्रमण फैलनबाट सजिलै रोक्न सकिने बताए ।त्यसैगरी शंकास्पदहरुको नमुना परीक्षणको दायरा बढाउनुको साथै अस्पतालहरुको व्यवस्थापन तयारी, फिबर क्लिनिक, आवश्यक जनशक्ति र व्यक्तिगत सुरक्षा सामाग्री को पर्याप्ततालाई पनि सरकारले प्राथमिकतामा राखेको उनले बताए ।

उनले संक्रमण रोक्नका लागि लकडाउन नै प्रभावकारी उपाय भएकाले लकडाउलाई प्रभावकारी बनाउने तर्फ सरकार कडा रुपमा प्रस्तुत हुने बताए ।कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेका आदेशको प्रभावकारी कार्यान्वयन गराउन गठन भएको कोभिड १९ क्राईसिम म्यानेजमेण्ट सेन्टर (निर्देशक समिति)ले विभिन्न ४ वटा समिति बनाएर काम सुरु गरिसकेको पनि उनले बताए ।

पाटन र वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तीनै जना विरामीको नमुना परीक्षण को रिपोर्ट नेगेटिभ आएको जानकारी दिदै उनले ज्वरोका विरामी देख्ने वित्तिकै नडराउन स्वास्थ्यकर्मीलाई आग्रह गरे ।उनले हरेक प्रदेशमा १ हजार ३ सय देखि २ हजार ५ सय सम्म पिपिई मौज्दात रहेको तथा स्वास्थ्य सेवा विभागमा पनि यथेष्ट मात्रामा पिपिइ मौज्दात रहेकाले उपचारमा कुनै कमि नहुने पनि स्पष्ट पारे ।

प्रवक्ता देवकोटाका अनुसार, कोरोना संक्रमणको स्वाव परीक्षण गर्नका लागि प्रदेशहरुमा प्रयोगशाला विस्तार हुने क्रममा रहेको छ । पोखरामा परीक्षण सुरु हुने क्रममा,धनगढीमा आवश्यक समान पुगेको, बुटवल र सुर्खेतमा जाने क्रममा र जनकपुरमा जादै रहेको तथा हेटौडामा त्यहाँ रहेकै मेसिन प्रयोग गर्ने गरि आवश्यक सामान पठाईएको छ ।प्रवक्ता देवकोटाले मंगलबार सम्म १ हजार ६० वटा नमुना परीक्षण गरिएको ,टेकु अस्पतालमा १० जना सहित सबै प्रदेशमा गरि ७७ जना आइसोलेसमा राखिएको र आइसोलेसनमा रहेका सबै विरामीको स्वाव परीक्षण गरिने जानकारी दिए ।

अहिले सम्म कोरोना संक्रमण देखिएका मध्ये २ वटा पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ सकिएको र पछिल्लो २ वटाको पनि ८० प्रतिशत काम सकिएको जानकारी पनि उनले दिए ।स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले व्यक्तिगत सुरक्षा सामाग्रीको सही ढंगले प्रयोग गर्न चिकित्सकहरुलाई आग्रह गरे ।पिपिइ लगाएर स्वास्थ्यकर्मीले सामुहिक तस्वीर खिचाएको फोटो सामाजिक सञ्जालमा आएको उल्लेख गर्दे उपचारमा अत्यन्तै महत्वपुर्ण सामाग्रीको गतल ढंगले प्रयोग नगर्न पनि उनले सुझाव दिए ।५ मिनेटमा नै कोरोना परीक्षण गर्न सकिने भन्दै प्रचार गरिएको र्यापिड टेस्ट किट विश्वसनिय नभएको भन्दै विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्नु भनेर निर्देशन दिएको उल्लेख गर्दै उनले त्यस्ता भ्रमपुर्ण प्रचारमा विश्वास नगर्न पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *