कश्मीरमा तनाव उस्तै, ६ भारतीय फौजसहित आठजना मारिए

मुख्य समाचार

श्रीनगर : भारत-पाकिस्तान तनाव चुलिइरहेका बेला जम्मु-कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा आइतवार बिहानसम्ममा ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको ज्यान गएको छ ।

आइतवार बिहानै भएको भिडन्तमा दुईजना चरमपन्थी मारिएको जानकारी भारतीय सञ्चारमाध्यमले दिएका छन् । यहाँ तीन दिनदेखि मुठभेड चलिरहेको छ ।

यसैबीच तीन दिनअघि भएको मुठभेडमा घाइते भएका भारतीय केन्द्रीय रिजर्भ फोर्सका एक जवानले शनिबार ज्यान गुमाएका छन् । यससँगै यो मुठभेडमा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । ज्यान गुमाउनेमा सीआरपीएफका चार जवान र जम्मु-कश्मीर पुलिसका दुई जवान रहेका छन् ।

भारतीय सुरक्षाकर्मीले हन्दवाडामा क्रालगुडस्थित बाबा गुँड इलाकामा बिहीबार रातिदेखि चरमपन्थीविरुद्ध अप्रेशन थालेको थियो । त्यसपछि भिडन्त सुरु भएको हो । चरमपन्थी लुकेको भनिएको घरमा भारतीय सुरक्षाकर्मीले बम हानेपछि जीवितै रहेका एकजनाले गोली बर्साएका थिए । त्यसक्रममा १० जन जवान घाइते भएका थिए ।

त्यसपछि भारतले भिडन्त भएको क्षेत्रमा मोबाइल इन्टरनेट सेवा पुरै बन्द गरिदिएको छ। भारतीय पक्षले जम्मु-कश्मीरमा नियन्त्रण रेखातर्फ पाकिस्तानले लगातार युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। शनिबार राति पनि सिमानामा दुवै पक्षबीच गोलाबारी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *