बबिता ओली /दक्षिण कोरिया कोरोनाविरुद्धको अभियानका लागि लागि दक्षिण कोरियाका नेपालीहरुले नेपाललाई ४ हजार कोरोना टेष्टिङ किटसहित ८० लाखभन्दा बढीको औषधिजन्य सामग्री पठाएका छन् । सामान शुक्रबारै काठमाडौं पुग्दैछ ।कोरोना भाइरसबाट विश्व त्रसित भइरहेका बेला दक्षिण कोरियामा रहेका नेपालीले नेपालमा संक्रमण देखा पर्नुपूर्व नै सम्भावित जोखिमलाई
ध्यानमा राखेर ‘एक व्यक्ति, एक हेल्थ किट अभियान’ सुरु गरेका थिए ।गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको संयोजन तथा स्वतन्त्र अभियन्ताहरुको सहकार्यमा अभियान शुरु गरिएको थियो ।अभियान शुरु गरेको ४ दिनमै १४ करोड २६ लाख ३७ हजार ७७९ वोन अर्थात १ करोड ४० लाख ७९ हजार ७७५ रुपैयाँ संकलन भएको थियो ।
मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीहरुलाई एनआरएनएले आग्रह गरेको उपाध्यक्ष यदु लामिछानेले बताए ।कोरियामा उत्पादित किटले कोरोना लागे/नलागेको तीन घण्टामा नतिजा दिन्छ । यसको मूल्य प्रतिकिट २० डलर पर्छ ।किटका लागि कोरियामा रहेको सम्वन्धित कम्पनीसँग सम्झौता भएलगत्तै किट खरिद गर्न नेपालीहरु सक्रिय भएर लागि परेका थिए ।
नेपाल सरकारलाई कोरोना विरुद्धको संघर्षमा सहयोग पुर्याउन केही सामग्री औपचारिकरुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदुत रामसिंह थापालाई विहीबार हस्तान्तरण गरिएको छ ।अभियानबाट संकलित रकममध्ये अहिले पहिलो चरणमा ८० लाख रुपैयाँ बराबरको ४ हजार किट र ५ सय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन एअरलाइन्सको विमान चाटर्ड गरेर शुक्रबार दिउँसो ३ः३० बजे नेपाल आइपुग्ने दूताबास स्रोतले बताएको छ ।
अभियान समाप्त भएको केही दिनमै उपकरण नेपाल पठाउने भनिएता पनि नेपाल–कोरिया हवाइ मार्ग बन्द भएका कारण केही समय ढिलो भएको हो ।त्यस्तै, दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको पनि एनआरएनए महासचिव विमल सुवेदीले जानकारी दिए ।दोस्रो चरणको सहयोग चीनबाट नेपाल जाने सामग्री नेपाल सरकारबाट हुने चाटर्ड विमानको अभावमा ग्वाङझाउ स्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाइने एनआरएनएले बताएको छ ।