शोकमा डुबे दार्चुलाबासी :दुर्घटनाको पीडा, स्‍नेहाले माइतीघर पुग्‍नै पाइनन्

मुख्य समाचार

दार्चुला ः अकल्पनीय जीप दुर्घटनापछि दार्चुला अहिले शोकमा डुबेको छ । बिहे भोज खाएर घर जान हिँडेर एकै परिवारका तीनजनाले मृत्युवरण गरेपछिको पीडा वर्णन गरी साध्य छैन ।

बेलुका छिट्टै घर फर्किने बाचा गरेर नागरिकता बनाउन सदरमुकाम आएका बाबुछोरीले कहिल्लै नफर्कने गरी संसार छोडे । माइती भेट्न हिँडेकी छोरीले बिहे गरेको दुई हप्ता नबित्दै संसार छाडिन् । माइतीको आँगनमा पाइला टेक्ने उनको सपना पनि अधुरै रह्यो ।

एकै परिवारका तीन सदस्यले दुर्घटनामा ज्यान गुमाउँदा आफन्तलाई त पीडा त भयो नै यो घटनाले दार्चुला शोकमा डुबेको छ । ‘परिवारका तीनजनाको मृत्यु हुँदा आखिर कसको मन नरोला र ?’, गौरील मान्डु हिकीलाका प्रधानाध्यापक केशब दत्त बडूले भने, ‘दैव पनि एकै घरमा लाग्यो । कसैले कलपना नगरेको यो घटनाले हामीलाई मर्माहत बनाएको छ ।’

शुक्रबार राति राताकाठामा जिप दुर्घटना हुँदा त्यसमा सवार ११ जनाको एकचिहान भयो । कतिका बालबालिका टुहुरा भए, कतिका सपना टुटे भने कतिको सिउँदो पुछियो ।

दुर्घटनामा ज्यान गुमाएका सबैको जिल्ला अस्पताल दार्चुलामा पोस्टमार्टम गरेर शब आफन्तको जिम्मा लगाइएको छ । चार वर्षदेखि सञ्चालनमा आएको राताकाठा सडकखण्डमा पहिलो पटक डर लाग्दो दुर्घटना भएको हो ।

पाँच सिटको मात्रै अनुमति भएको जिपमा ११ जना यात्रु बोक्दा ओभरलोड भएको थियो भने उकालो जोखिमपुर्ण सडक पनि कालको अर्को कारण बन्यो । जोखिमयुक्त सडकमा क्षमता भन्दा धेरै यात्रु बोक्दा दुर्घटना भएको सशत्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति भीम बहादुर चन्दले बताए ।

सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ गइरहेको म १ ज २८० नम्बरको जिप दुर्घटनामा ७ महिला, ३ पुरुष र १ बालिकासहित ११ जनाको मृत्यु भएको थियो ।

यो दुर्घटनामा दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम र उनकी सात वर्षीया नातिनी आयुषाले ज्यान गुमाए । त्यस्तै बुहारीलाई माइती पुर्या‍उन आएका बैतडीको दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र उनकी बुहारी २१ वर्षीया स्नेहा बम चन्दले पनि ज्यान गुमाएको प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।
बैतडीका चन्द आफन्तको बिहे सकेर बुहारीको माइतीघर जाँदै गर्दा दुर्घटनामा परे । यही फागुन ५ गते बैतडीका दिपेन्द्र चन्दसँग बिहे गरेकी २१ वर्षीया चन्दले १० दिनमै संसारबाट बिदा लिइन् ।

दुर्घटनापछि आर्थिक अभावमा पीडित परिवारले शव पनि बुझेका छैनन् । ज्यान गुमाएका आफन्तको किरियाा लागि आर्थिक अभाव हुँदा बम र बडाल परिवारलाई समस्या भएको छ ।

जुट्दै आर्थिक सहयोग

मृतकका परिवारलाई तत्काल किरिया खर्च वापत सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले प्रतिपरिवार पाँच हजार र दुहु गाउँपालिकाले प्रतिपरिवार ५ हजार राहत उपलब्ध गराएका छन् ।

यस्तै महाकाली यातायात समितिले किरिया खर्चका लागि प्रतिपरिवार ५० हजारका दरले ५ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । बिमा बापतको रकम पछि प्रदान गर्ने गरी तत्काल किरिया खर्च उपलब्ध गराइएको यातायात समितिले जनाएको छ ।

यस्तो छ सडक

महाकाली करिडोर अन्तरगत दार्चुला–टिंकर सडकखण्ड २०६४÷०६५ देखि निर्माण सुरु भएको हो । तर यो सडक हालसम्म तयार भइसकेको छैन । दुहु र ब्यास गाउँपालिकाका हजारौँ नागरिकलाई सहज हुने यो सडकमा निर्माण व्यवसायीले समयमा काम नगर्दा स्थानीयवासी समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *