साना तथा मझौला व्यवसायका लागि २ खर्ब ७९ अर्ब डलर ऋणको व्यवस्था

मुख्य समाचार

टोकियो

कोरोना भाइरसको महामारीबाट उत्पन्न क्षति कम गर्न जापानले साना तथा मझौला आकारका कम्पनी (एसएमई)हरुको लागि खर्बौ डलर छुट्टयाएको छ ।

यहाँको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे)ले एसएमईका लागि २ खर्ब ७९ अर्ब डलर बराबरको नयाँ ऋण योजनाको घोषणा गरेको छ ।

शुक्रवार बसेको आपतकालीन बैठकमा बैंकको मौद्रिक नीति समितिले सो कर्जा योजना पारित गरेको हो । बैठकमा महमारी फैलिन नदिन अपनाइएका उपायहरुले निजी क्षेत्रमा पारेको प्रभाव र अतिरिक्त टेवाका उपायहरुबारे समेत छलफल गरिएको थियो ।

बीओजेले यसअघि पनि एसएमईका लागि सहुलियत दरमा ठूलो परिमाणको ऋण व्यवस्था गरेको थियो । कोभिड–१९ ले विश्व अर्थतन्त्रमा क्षति पुर्याउनु अघि नै प्राकृतिक प्रकोप र विक्री करमा गरिएको वृद्धिका कारण जापानी अर्थतन्त्र ठूलो संकटमा थियो ।

यस वर्षको पहिलो त्रैमासमा जापानी अर्थतन्त्र सन् २०१५ को पहिलो त्रैमासयता पहिलो पटक मन्दीमा गएको सोमबार सार्वजनिक तथ्यांकले देखाएको छ ।

आगामी त्रैमासमा अर्थतन्त्रमा झनै ठूलो संकट आउने अर्थशास्त्रीहरुको अनुमान छ । गत महिना बीओजेले अर्थतन्त्रलाई गतिशील तुल्याउन र कोरोना भाइरसका कारण सिर्जित समस्या सुल्झाउन नयाँ मौद्रिक नीति अघि सारेको थियो । एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *