टोकियोको हस्पिटलमा देखा पर्यो सामूहिक संक्रमण, दोस्रो चरणको संक्रमण फैलिने डर

अन्तराष्ट्रिय खबर

टोकियो । टोकियोको एक हस्पिटलमा बिहिवार नौ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन् । महामारीका कारण लगाइएको आपतकाल देशभर हटाइएको केही दिन पछि नै यस्तो समाचार सार्वजनिक भएको हो । संक्रमण सामूहिक हुन सक्ने आशंका गरिएको छ ।यसले दोस्रो चरणको संक्रमण फैलिने हो कि भन्ने भय झनै बढाएको छ ।

बिहिबार राजधानी टोकियोमा पनि थप १५ संक्रमित फेला परेको महानगर सरकारले बताएको छ । प्रधानमन्त्री शिन्जो आबेले आपतकाल हटाए यताको तीन दिनमा पनि यहाँ दिनँहु १० भन्दा बढी संक्रमित देखिएको थियो । गत हप्ता भने संक्रमण घटेको थियो ।बिहिवार सार्वजनिक गरिएको तथ्यांकमा पश्चिम टोकियोको

कोगानेईमा रहेको मुसाशिनो सेन्ट्रल हस्पिटलमा देखिएका ९ संक्रमित मध्ये केही समेत समाविष्ट छन् । अस्पतालका अनुसार मनोचिकित्सक एकाईका एक कर्मचारीलाई मे २१ मा कोरोना संक्रमण पाइएको थियो । ती कर्मचारीसँग नजिकको सम्पर्कमा रहेका अन्य चार कर्मचारी र पाँच अन्तरंग विभागका बिरामीमा समेत पछि संक्रमण पाइएको थियो । सो अस्पतालमा सामूहिक संक्रमण नियन्त्रण समूह पठाउन महानगर सरकारले स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयलाई आग्रह गरेको थियो ।

अस्पतालले बहिरंग बिरामीको चेकजाँच रोकेको छ भने केही समय नयाँ अन्तरंग बिरामीको भर्ना पनि बन्द गरेको बताइएको छ । जापानमा पछिल्लो समय कुल संक्रमितको संख्या १७ हजार ४०० नाघेको छ । भाइरसका कारण देशभर ९०० जना भन्दा बढीको ज्यान गएको छ ।

बिहिवार टोकियोमा संक्रमण बढेर करीब ५ हजार २०० पुगेको छ । यो देशका ४७ ओटै प्रिफेक्चरमध्ये सबैभन्दा धेरै हो । फुकुओका प्रिफेक्चरको किता क्युशुमा अप्रिल ३० देखि गत शुक्रवारसम्म नयाँ संक्रमण शून्य थियो । तर बिहिवारसम्मको ६ दिनमा भने त्यहाँ ४३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या ११९ पुगेको छ । शनिवार देखि बुधवारसम्म देखा परेका संक्रमण मध्ये अधिकांशमा स्रोत पहिचान नभएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

तीन हप्तासम्म नयाँ संक्रमण नदेखिएको भएपनि अचानक संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले दक्षिण पश्चिम शहर किता क्युशुमा सामूहिक संक्रमण रोक्ने समूह पठाएको छ । दोस्रो चरणको संक्रमण देखिन सक्ने चेतावनी दिँदै किता क्युशु शहरका मेयर केन्जी किताहाशीले बासिन्दाहरुलाई अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर नजान आग्रह गरेका छन् । यसलाई त्यतिकै छोडियो भने दोस्रो चरणको ठूलो संक्रमण हुने पत्रकार सम्मेलनमा उनले बताए । आपतकाल हटाएपछि खुला गरिएका केही सार्वजनिक स्थलहरु मध्ये जुनसम्मका लागि फेरि बन्द गरिएको छ । शहरले आयोजना गरेका कार्यक्रमहरु पनि रद्द वा स्थगित गरिएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *