टोकियो ।
जापानले करीब १० हजार मानिसमा कोरोना भाइरसको एन्टिबडी परीक्षण शुरु गरेको छ । संक्रमण नियन्त्रण गर्न त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार यस्तो परीक्षण शुरु गरेको हो ।
गत हप्ता आपतकाल हटाएसँगै सामूहिक संक्रमणका घटनाहरु बढेकै बेलामा यस्तो कदम चालिएको हो । परीक्षण टोकियो र मियागी प्रिफेक्चरमा शुरु भएको छ । ओसाकामा भने बुधवारदेखि परीक्षण थालिनेछ ।
यसको नतिजाले पुनः संक्रमण बल्झियो भने संक्रमितको संख्याबारे दृष्टिकोण तयार पार्न अधिकारीहरुलाई मद्दत गर्ने अपेक्षा गरिएको छ । यसले खोप उपलब्ध भएपछि कतिजनालाई खोप चाहिन्छ भन्ने अनुमान गर्न समेत मद्दत मिल्ने बताइएको छ ।
यस परीक्षणमा तीन ओटा पद्दतिको प्रयोग गरिने र यसका लागि अहिले प्रचलनमा रहेको पीसीआर अर्थात् पोलिमिरेज चेन रियाक्शन परीक्षणका लागि लाग्ने भन्दा पनि कम समय लाग्ने बताइएको छ ।
पीसीआर परीक्षणमा बिरामीको नाकबाट स्वाब लिइन्छ । यसको नतिजा आउन कम्तिमा पनि कयौं घन्टा लाग्दछ । जापानमा अहिलेसम्म १७ हजार ५०० भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पाइएको छ भने यसबाट मर्नेको संख्या ९०० माथि पुगेको छ ।
सरकारले गत हप्ता मात्रै आपतकाल पूर्ण रुपमा हटाएको थियो । तर हालैका दिनमा टोकियो र फुकुओका प्रिफेक्चरमा संक्रमितको संख्या बढेको भएपनि तत्कालै यी प्रिफेक्चरमा पुनः आपतकाल लगाउने योजना नरहेको सरकारले बताएको छ ।