टोकियो ।
टोकियोको शिनागावा वडाले हरेक बासिन्दालाई ३० हजार येन नगद वितरण गर्ने भएको छ ।
वडाले जुन १ मा नगद वितरण योजनाको घोषणा गरेको हो ।कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधि घटेसँगै मानिसहरुको आम्दानीमा कमी आएको छ ।
यस्तोमा उनीहरुलाई मद्दत गर्न वडाले यो निर्णय गरेको हो । शिनागावा वडामा बस्ने हरेक बासिन्दा यो भुक्तानीका लागि योग्य रहेको बताइएको छ ।
यसमा वडामा दर्ता भएका विदेशी बासिन्दाहरुलाई समेत समाविष्ट गरिनेछ । कनिष्ठ उच्च विद्यालय र साना उमेरकाहरुले भने अतिरिक्त २० हजार येन प्राप्त गर्नेछन् । अर्थात् उनीहरुले कूल ५० हजार येन पाउनेछन् ।
जापानको केन्द्र सरकारले पनि देशभर रहेका नागरिक र विदेशी सबै नागरिकलाई १ लाख येन नगद दिइरहेको छ । अतिरिक्त रकम दिनेमा शिनागावा औंलामा गन्न सकिने नगरपालिका मध्ये एक हो ।
सरकारी तथ्यांक अनुसार शिनागावा वडामा अहिले करीब ४ लाख ६ हजार मानिसहरु बस्छन । यसमध्ये करीब ५० हजार कनिष्ठ उच्च विद्यालय जाने उमेरका विद्यार्थी वा सो भन्दा कम उमेरका छन् ।
यसको अर्थ यो उपायका लागि वडालाई १३ अर्ब ५५ करोड येन खर्च लाग्नेछ । यो रकम आर्थिक वर्ष २०२० को पूरक बजेट योजनामा समावेश गरिनेछ । यो जुनमा हुने वडाको सत्रमा पेश गरिनेछ ।
बजेट पारित भयो भने आवेदन फारम शिनागावाको ठेगाना भएका आवासीय कार्ड हुने सबैलाई अगष्टदेखि सेप्टेम्बरको बीचमा पोष्टमार्फत मेलमा पठाइनेछ । सामाजिक दूरी कायम गर्नका वडाले भरेका आवेदन फारम पनि मेलबाट मात्रै लिनेछ ।
वडाले कोरोना भाइरसको महामारीसँग अगाडि रहेर लडिरहेका कर्मचारी र व्यक्तिहरुको औषधि र कल्याणलाई टेवा दिन मानिसहरुले दिने दान संकलनको व्यवस्था पनि गरेको छ ।