सरकारलाई काभ्रेली जनताको तर्फबाट ‘डल्लै’ धन्यबाद – बास्कोटा।

मुख्य समाचार

काठमान्डौ

प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन्।

उनले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७-७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित भएको उल्लेख गर्दै सरकारलाई धन्यवाद दिएका हुन्।

बाँस्कोटाले विश्व नै कोरोना भाइरसका कारण आक्रान्त भएको वर्तमान अवस्थामा आर्थिक सङ्कट र चुनौती झेल्दै सरकारले सिङ्गो काभ्रेपलाञ्चोकलाई समृद्ध बनाउनेतर्फ बजेट विनियोजन गरेकामा पूर्वमन्त्री बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जिल्लावासीका तर्फबाट ‘डल्लै’ धन्यवाद दिए।

‘प्रस्तुत बजेटले जिल्लाको समग्र विकास प्रक्रियालाई अत्यन्त सही दिशासाथ अघि बढाएको छ, यसैले प्रम ओली र उहाँको सरकारलाई काभ्रेलीको तर्फबाट डल्लै धन्यवाद दिएको हुँ’, उनले भने।

बाँस्कोटाले सडक, पुल, खानेपानी, कृषि, सिँचाइ, शहरी पूर्वाधार, सहायक राजमार्गको निर्णयसहितको बजेट व्यवस्थापन, पर्यटन पूर्वाधार, ठूला र मझौला विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, करिडोर निर्माण, सुरक्षण छापाखाना निर्माण, मदन भण्डारी र प्रतिरक्षा राष्ट्रिय विश्वविद्यालय स्थापना, दुई राजमार्गको स्तरोन्नति, हवाई मैदानजस्ता दर्जनौँ योजनामा करोडौँ बजेट विनियोजन भएकामा सरकारलाई ‘विशेष धन्यवाद’ दिएको बताए।

‘हामीले धेरै काम गर्नुछ, समय पनि छ, अझ प्रदेशको बजेट आउनै बाँकी छ, म ढुक्क छु, केन्द्रमा समेट्न नसकिएका योजना वाग्मती प्रदेशले समेट्नेछ’, उनले भने।अर्थमन्त्री डा युवराज खतिवडाद्वारा यही जेठ १५ गते प्रतिनिधिसभामा प्रस्तुत आव २०७७/७८ को विनियोजित बजेटमा काभ्रेपलाञ्चोकको विकास योजनाका लागि स्थानीय तहबाहेक विभिन्न शीर्षकमा अर्ब हाराहारीमा बजेट विनियोजन भएको छ।

चालु दीर्घकालीन महत्वका योजना जारी नै रहेको र आगामी वर्षको बजेटले काभ्रेपलाञ्चोकको विकासमा अर्को फड्को मार्ने भएकाले यसपटक सरकारलाई विशेष धन्यवाद दिइएको बाँस्कोटाले बताए।समृद्ध काभ्रेपलाञ्चोक निर्माणको हाम्रो यात्रा इन्द्रावती र सुनकोशी नदीझैँ शान्त तर गतिसाथ अघि बढिरहनेछन्’, बाँस्कोटाले भने।आगामी वर्षका लागि प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलाई करिब साढे चार अर्ब छुट्याइएको छ।सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *