टोकियो ।
टोकियो महानगर सरकारले नाइटक्लब वा यस्तै खालका रात्रिकालीन मनोरञ्जनस्थलमा काम गर्ने मानिसहरुलाई कोरोना भाइरस लागेको छ छैन भनेर यकिन गर्न परीक्षण गर्न भन्ने भएको छ ।
त्यहाँको गभर्नर युरिको कोइकेले आइतबार यस्तो बताएकी हुन् ।टोकियोका मुख्य रात्रीकालीन क्षेत्रहरुमा भाइरसको संक्रमण फैलिएसँगै संक्रमण नियन्त्रण गर्न अपनाइएका नयाँ उपायहरुको हिस्सा अन्तर्गत यस्तो नीति ल्याइएको अर्थमन्त्री यासुतोशी निशिमुरासँगको वार्तापछि आइतबार कोइकेले पत्रकारहरुलाई बताइन् ।
रात्रीकालीन मनोरञ्जनका क्षेत्रहरुमा समेत मानिसहरुलाई भाइरसको संक्रमण नहोस् वा अरुलाई नसरोस् भन्ने सुनिश्चित गर्न चाहेको उनले बताइन् । गत महिना सामाजिक र आर्थिक कडाई खुुकुलो पारेसँगै नाइट क्लबसँग सम्बन्धित केही व्यक्तिमा कोभिड–१९ संक्रमित फेला परेको छ । आइतबार मात्रै टोकियोमा १४ नयाँ संक्रमित फेला परेको र यी मध्ये ६ जना नाइटलाइफ डिष्ट्रिक्टसँग सम्बन्धित भएको कोइकेले बताइन् ।
शनिवार भने महानगरमा २६ नयाँ संक्रमित फेला परेका थिए । यीमध्ये १२ संक्रमित शिन्जुकु वडामा रहेका नाइट क्लबका कर्मचारी थिए । अन्य ४ संक्रमित पनि यिनै क्लबहरुसँग सम्बन्धित रहेको आशंका गरिएको छ । यी क्षेत्रलाई सुरक्षित बनाउन जापान सरकारले आगामी सप्ताहन्त केही निर्देशिकाहरु ल्याउने योजना बनाइरहेको निशिमुराले बताएका छन् ।
जापानले मे २५ मा देशव्यापी आपतकाल अन्त्य गरेको थियो । गत सोमबार देखि भने व्यवसायी गतिविधिमा लगाइएको अवरोधमा दोस्रो चरणको फुकुवा गरिएको थियो । योसँगै सिनेमा घर, व्यायामशाला लगायत स्थलहरु खुला भएका छन् ।