जुलाई १ बाट जापानको कन्भिनियन्स स्टोरहरुमा प्लाष्टिक ब्यागको पैसा लाग्ने

जापान समाचार

टोकियो

जापानका तीन मुख्य कन्भिनियन्स स्टोर र अन्य खुद्रा विक्रेताहरुले प्लाष्टिकका शपिङ झोलाका लागि क्रेताहरुलाई १० येन सम्म तिराउने भएका छन् ।

जुलाई १ देखि लागू हुने गरी सेभेन इलाभेन, लसन र फ्यामिली मार्टले हरेक प्लाष्टिकका हरेक शपिङ झोलाका लागि ३ येन देखि ५ येनसम्म तिराउने भएका छन् ।

अन्य खुद्रा विक्रेताहरुले भने प्रति झोला १० येन तिराउनेछन् ।जापानमा उत्पादन हुने प्लाष्टिकका फोहोर कम गर्न सरकारले जुलाई १ देखि देशभरका खुद्रा विक्रेताहरुलाई प्रयोग गरेपछि फाल्न मिल्ने प्लाष्टिकका झोलाका लागि शुल्क तिराउने व्यवस्था गरेकोले यस्तो भएको हो ।

प्रतिव्यक्ति फोहोर उत्पादनमा जापान विश्वको तेस्रो ठूलो देश हो । हरेक वर्ष यहाँका उपभोक्ताहरुले करीब ३० अर्ब प्लाष्टिकका झोला फ्याक्छन् । सन् २०३० सम्ममा एक पटक प्रयोग गरेर फ्याकिने प्लाष्टिकका झोला २५ प्रतिशत कम गर्ने जापान सरकारको लक्ष्य रहेको छ । तर प्लाष्टिकका फोहोरमा प्लाष्टिकका झोलाको अनुपात त्यति धेरै नभएको बताइएको छ । यद्यपि, यसमा लगाइने शुल्कले यस समस्याबारे मानिसहरुलाई सचेत गराउने अपेक्षा गरिएको छ ।

कुन प्लाष्टिकको झोला ?
संसोधित कन्टेनर र बेर्ने वस्तु पुनः प्रयोगमा ल्याउने कानूनमा प्लाष्टिकका झोला भन्नेले ‘जैविक संसाधनबाट एक पटक प्रयोग गर्ने गरी बनाइएका शपिङ झोला हुन् जुन उपभोक्ताहरुले खरिद गरेको वस्तु बोक्न प्रयोग गर्छन्,’ भनेर परिभाषित गरिएको छ । कम्तिमा २५ प्रतिशत बोटविरुवाबाट प्राप्त हुने सामाग्री भएको, समूद्री बायोडिग्रेडेबल प्लाष्टिकका झेोला र शून्य दशमलव शून्य ५ एमएम वा सोभन्दा बढी मोटाईका प्लाष्टिकका झोलाहरु यसमा पर्दैनन् । स्वच्छताको कारणले गर्दा प्रायः तरकारीहरु प्याकेजिङ गर्न प्रयोग गरिने पातला झोलाहरु पनि यसमा पर्दैनन् ।

कन्भेनियन्स स्टोर
– देशभर रहेका आफ्ना २९ हजार स्टोरमा साना देखि मझौला आकारका झोलाहरु (बेन्तो हालिएको झोला समेत)मा ३ येन र ठूला झोलाका लागि ५ येन शूल्क तिराउने घोषणा सेभेन–इलाभेनले गरेको छ ।

– लसनले पनि आकार जुन सुकै भएपनि हरेक प्लाष्टिकका झोलामा ३ येन शूल्क लगाउनेछ ।

– वातावरणीय प्रभाव कम गर्न सेभेन–इलाभेन, लसन र फ्यामिली मार्टले कम्तिमा ३० प्रतिशत बायोमास भएका प्लाष्टिकका झोलाहरु बेच्नेछन् ।

– झोला बेचेर आएको रकमको एक हिस्सा सेभेन–इलाभेनले स्थानीय स्तरमा वातावरण संरक्षणसँग सम्बन्धी क्रियाकलापहरु गर्नका लागि छुट्टयाउनेछ ।

डिपार्टमेन्ट स्टोर
जुनमा दाईमारु माचुजाकायाले क्रेताहरुलाई प्लाष्टिकको झोलाको शूल्क तिराउन शुरु गरिसकेको छ । डिपार्टमेन्ट स्टोरले ३० प्रतिशत बायोमास भएका ब्यागमा ३ येनदेखि ५ येन तिराउँछ ।

ताकाशिमायाले त झन अप्रिलमा नै प्लाष्टिकका ब्यागमा २ येनदेखि ८ येनसम्म तिराउन थालेको छ । इसेतान मिचुकोशीले भने जुलाईमा ताजा खानाको काउन्टरबाट प्लाष्टिकका ब्याग हटाउने भएको छ । यसले हातले समाउने ह्यान्डल समेत भएको कागजको ब्याग प्रतिगोटा ३० देखि ५० येनमा बेच्नेछ ।

टोक्यु ह्यान्ड्ज र जापान पोष्ट पनि

टोक्यु ह्यान्ड्जले पनि जुलाईदेखि सबैका आकार जुनसुकै भएपनि प्रति झोला १० येन शूल्क तिराउने घोषणा गरेको छ । यसले क्रमिक रुपमा प्लाष्टिकमा आधारित सबै खालका प्लाष्टिकका झोला हटाउने भएको छ । यसको सट्टा कागजबाट बनेका झोलाहरु प्रयोग गरिनेछ ।

जुलाईदेखि भने हुलाक कार्यालय जाँदा पनि आफ्नै झोला लिएर जानु होला । जापान पोष्टले पनि हरेक प्लाष्टिकका शपिङ झोलामाथि ३ येन देखि १० येनसम्म शूल्क तिराउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *