जापानले दैनिक २५० विदेशीलाई आउन दिने

जापान समाचार

टोकियो ।

जापानले कोरोना भाइरसको महामारीका कारण यात्रामा लगाएको प्रतिबन्ध विस्तारै फुकाउने योजना बनाइरहेको छ ।

बुधवार सरकारी स्रोतले बताए अनुसार सरकारले अष्ट्रेलिया, न्यूजिल्याण्ड, थाइल्याण्ड र भियतनामबाट आउने दैनिक करीब २ सय ५० को संख्यामा विदेशी यात्रीहरुलाई देशभित्र प्रवेश गर्न दिने भएको छ ।

यो कोटा यही गर्मीयामदेखि लागू गर्न खोजिएको र शुरुमा कार्यकारी, इन्जिनियर लगायत व्यवसायिक मानिसहरुको लागि मात्रै लागू हुने स्रोतको भनाइ छ । योजनाको अन्तिम विवरणलाई कोरोना भाइरस नियन्त्रण सम्बन्धी सरकारी कार्यदलले छिट्टै अन्तिम रुप दिने बताइएको छ ।

जापानले अहिले १ सय ११ देश र क्षेत्रमाथि प्रवेश प्रतिबन्ध लगाएको छ । जापान आउनु १४ दिन अगाडि यी देश वा क्षेत्रमा जाने विदेशी यात्रीहरुलाई समेत फिर्ता पठाइदैं आएको छ ।

केही देशहरुले आफ्नो सीमा खुलाउन थालेकोले जापान छाड्ने मानिसको पोलिमिरेज चेन रिअक्स्न (पीसीआर) परीक्षण गरे ति मानिसहरु संक्रमित छैनन भन्ने प्रमाण दिन सरकारले स्टेशन पनि स्थापना गर्नेबारे सोचिरहेको छ ।

विदेश मन्त्रालयका अनुसार १ सय ८१ देश वा क्षेत्रमा जापानमाथि कुनै न कुनै खालको यात्रा प्रतिबन्ध लगाएका छन् । यी देशहरुमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, थाइल्याण्ड र भियतनाम पनि पर्छन् ।

यात्रामा गरिएको कडाई खुकुलो बनाउने काम पारस्परिक हुने र कोभिड – १९ फैलिने जोखिम बिना यस्तो कसरी गर्ने भन्नेबारे यी देशहरुसँग वार्ता समेत भइरहेको स्रोतले बताएको छ ।

हरेक देशबाट कति जनालाई आउन दिने र गन्तव्यमा पुगिसकेपछि कतिको स्वतन्त्रता पूर्वक हिड्न दिइने भन्नेबारे समेत छलफल भइरहेको बताइएको छ । स्रोतका अनुसार महामारी नियन्त्रण भइसकेको र जापानसँगको बलियो आर्थिक सम्बन्धका कारण यी देशहरु रोजिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *