प्रधानमन्त्री सवार जहाज १० मिनेट होल्ड हुँदा छानबिन समिति

मुख्य समाचार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली चढेको यति एयरलाइन्सको जहाज मङ्गलवार बेलुका १० मिनेट होल्ड हुँदा छानबिन समिति नै गठन भएको छ ।

झापाको भद्रपुरबाट साँझ साढे चार बजे उडेको यति एयरलाइन्सको ९२६ नम्बर उडानको जहाज करिब साढे पाँच बजे काठमाडौँ अवतरणका क्रममा होल्डमा परेको थियो ।

‘भीभीआईपी उडान भन्ने थाहै भएन,’ त्रिभुवन विमानस्थल कार्यालय स्रोतले भन्यो, ‘भीभीआईपीको उडान छ भनेर टावरलाई पनि कुनै जानकारी नहुँदा उक्त जहाज १० मिनेट होल्डमा परेको थियो ।’

भीभीआईपीको उडान होल्डमा राखेको विषयमा पर्यटन मन्त्रालयले बुधवार राज्यमन्त्री स्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको हो । पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको हो ।

आचार्यको संयोजकत्वमा पर्यटन मन्त्रालयकै कानुन महाशाखाका उपसचिव सूर्यवंश कँडेल, प्रशासन महाशाखाका उपसचिव प्रकाश शर्मा ढकाल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नेपाल नागरिक प्राधिकरणका निर्देशक नवीना कर्माचार्य रहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

उनका अनुसार छानबिन समितिले सात दिनको कार्यदिशा पाएको छ । उक्त समितिलाई भीभीआइपी जहाज होल्ड हुनुको कारण, होल्ड गर्नुपर्ने अवस्था र प्राविधिक विषयसहितमा छानबिन गर्ने कार्यदेश दिएको छ ।

प्रधानमन्त्री चढेको विमान होल्ड भएको विषयमा विमानस्थल कार्यालयले भने भीभीआईपी उडान थाहै नपाएको प्रतिक्रिया दिएको छ । यस्तो अवस्थामा सम्बन्धित वायुसेवाको पाइलटले जानकारी गराउनुपर्ने हुन्छ । तर पाइलटबाट पनि जानकारी नआएको स्रोतले जानकारी दिएको छ ।

भीभीआईपी अन बोर्ड भनेर उल्लेख पनि नभएकोले सामान्य अवस्थामा जस्तै उक्त जहाज पनि अवतरण भएको विमानस्थल कार्यालयका एक अधिकारीले अन्नपूर्णलाई बताए । सरकारले छानबिन समिति नै बाएकोले यसको कारण त्यही समितिबाट आउने जानकारी पनि विमानस्थलका ती अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *