यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने आँट कसैले गर्दैन: प्रधानमन्त्री

मुख्य समाचार

काठमान्डौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताएका छन्।

लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि फिर्ता नल्याएसम्म नछोड्ने बताएका प्रधानमन्त्री ओलीले नक्सा जारी गरेपछि आफूलाई हटाउने खेल भइरहेको बताए।

भारतीय सञ्चार माध्ययमा आएका समाचार, दूतावासका गतिविधिले भित्रभित्र के भइरहेको छ भन्नेबारे थाहा हुने प्रधानमन्त्रीको भनाइ छ।
‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन,

’ मदन भण्डारीको जन्मजयन्तीमा बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तर यतिबेला म हट्ने हो भने फेरि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन, किनभने बोलेको भोलिपल्ट बर्खास्त हुन्छ।’

प्रधानमन्त्री ओलीले पार्टीको संसदीय दलले आफूलाई हटाउने कुरा कहाँबाट आइरहेको छ भन्ने राम्ररी बुझेको दाबी गरे।‘मैले आजका लागि होइन भोलिका लागि, आफ्ना लागि होइन देशका लागि काम गरेको छु। हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता बहकावमा कुद्नेवाला छैन।

यति कुरा नबुझ्ने अन्जान खेलमा सामेल हुनेवाला पनि छैन,’ उनले भने।
प्रधानमन्त्री ओलीले भुलचुकले नेपालको नयाँ नक्सा नछापिएको बताए। ‘भुलचुकले नक्सा छापेको होइन। संविधान संशोधन गरिएको होइन,’ उनले भने, ‘भूमि फिर्ता गर्ने यस अभियानबाट हामी फिर्तै हुँदैनौं। हामीलाई हाम्रो भूमि चाहियो। फिर्ता नलिइकन छोड्दैनौं,’ प्रधानमन्त्री ओलीले भने।

सन् १९६२ सालदेखि कालापानीमा भारतले सेना राखेको र त्यहाँका जनतासँग नेपालको सम्बन्ध टुटेको उनले बताए।‘कालापानीमा सेना राखेर उता जानै दिएका छैनन्,’ उनले भने, ‘नेपालका नागरिकताधारीहरूले त्यहाँ नागरिकता र रासन कार्ड कसले दिएको छ भन्ने प्रश्न गर्छन्।’
यस्ता प्रश्न खल्तीमा नेपाली नागरिकता बोक्ने तर तर्क अर्काको पक्षबाट गर्ने पनि प्रधानमन्त्रीको आरोप छ।

नक्सा छापेपछि केही गाह्रो नहुने उनले बताए।‘हामीले अरूको जमिन अतिक्रमण गरेको छैन,’ उनले भने। प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना नदेख्न पनि आग्रह गरे।setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *