सांसदको गँजेडी आइडिया,आत्तिएका बामदेव

मुख्य समाचार

सांसद विरोध खतिवडा अहिले गँजेडीहरुका प्रिय नेताको सूचीमा दरिन पुगेका छन् । कारण हो, गाँजा खुल्ला गराउने उनको अभियान । सांसदले गाँजा माथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेपछि २–४ ग्राम गोजीमा बोकेर हिँड्दा प्रहरीको फन्दामा परेकाहरुको मनमा आशाको दियो बल्ने नै भयो, बल्यो ।

त्यसमा पनि चानचुने दलका चानचुने नेताले बोलेको भए पो ह्या गफ हो भनेर शंका गर्नु । चाहँदा संविधानसमेत परिर्वतन गर्न सक्ने संख्या सहितको सत्ताधारी दलका प्रभावशाली नेताले नै यस्तो माग गरेपछि आशा जाग्ने नै भयो ।

हुन पनि विश्वका धेरै देशमा गाँजा खुला भइरहेको छ । अरु त अरु नेपालमा गाँजामा प्रतिबन्ध लगाएर काउली फलाउन प्रोत्साहित गर्ने अमेरिकामा समेत ६ भन्दा बढी राज्यमा गाँजा लिगल भइसक्यो । ती स्टेटमा ‘हिमालयन ह्यास’ को नाममा नक्कली नेपाली गाँजासमेत बिक्री हुन्छ तर नेपालमा भने प्रतिबन्ध छ ।

तर त्यसैको झोँकमा मात्र खतिवडाले गाँजा खुलाउने माग गरेका पक्कै हैनन् । यसमा पनि हल्का पोलटिक्स भने मिसिएको छ है ! सांसद खतिवडा मकवानपुरका जनप्रतिनिधि हुन् । मकवानपुर गाँजाको राजधानी पनि हो । खुला सीमा हुँदै भारत पुग्ने होस् या नेपालका अन्य शहरमा टनका टन फेला पर्ने गाँजाको मूल स्रोत मकवानपुर नै हो । भारतदेखिका व्यापारी मकवानपुरमा आएर गाँजा रोप्न प्रोत्साहित गर्छन्, पैसा पनि दिन्छन् । गाँजा खुला नहुँदा मकवानपुरमा सांसद खतिवडाका मतदाता पनि मारमा परिरहेका छन् नै ।

गाँजा खुला गराउने माग मकवानपुरको मात्रै पनि हैन । अन्तबाट पनि कुरा उठिरहेको छ । केही मिडियाले निरन्तर गाँजा खुलाउन वातावरण पनि बनाइरहेका छन् । यस्तो बेलामा गाँजा खुला गराउँ भन्दा चर्चा पनि हुने, मतदाता पनि मख्ख पर्ने ! आइडिया चैँ लगाएकै हुन् क्या नेताज्यूले !!

आत्तिएका बामदेव
पार्टीका युवा नेता तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएसँगै पार्टी पंक्ति शोकमा पर्यो । भावविह्वल हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा घोषणा गरे । पार्टीका युवा नेता गुम्दा नेकपा नेता बामदेव गौतम पनि शोक र चिन्तामा पर्ने नै भए । तर उनको चिन्ता भने डबल भइदियो ।

संविधान जारी भएपछिको पहिलो निर्वाचनमा पार्टी बहुमतमा पुगे पनि बामदेवको भागमा सांसद पद पर्न सकेन । गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग झिनो मतले पराजित भएका थिए । पार्टी बहुमतसहित सरकारमा रहँदा संसद् भवनमा प्रवेश गर्ने समेत हैसियत नभएपछि उनले संसद् छिर्न अनेक उपाय रचे ।

पछिल्लो समय काठमाडौँ–७ बाट नेकपाकै सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर उपनिर्वाचनमा उठ्ने रणनीति बुने तर सफल भएनन् । त्यसले गौतम सांसद हुन जे पनि गर्न तयार भएको सन्देश गयो ।

अधिकारीको दुःखद् निधनसँगै कास्कीमा एक क्षेत्र खाली भयो, जहाँ सरकारले उपनिर्वाचन गर्ने नै छ । हिजोका दिनमा उनले सांसद बन्न गरेको सकसबारे जानकारहरुले हल्ला चलाइदिए, ‘अब बामदेव कास्की जान्छन् ।’

उनी मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जलिका लागि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, मन्त्री गोकर्ण विष्ट, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, घनश्याम भुसाल लगायतसँगै पोखरा पुग्नु हल्लाको कारण थियो ।

बामदेवजस्तै नारायणकाजी पनि गोरखाबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हारेकै नेता हुन् । तर श्रद्धाञ्जलि दिन पुग्दा बामदेव शंकाको घेरामा परे । केही नचलेर कम्रेड बामदेव श्रद्धाञ्जलिको बहानामा चुनाव लड्ने विचारले पोखरा पुगेको हल्ला चलिहाल्यो ।

नेताको निधनमा पार्टीपंक्ति शोकमा हुँदा उनी मौकाको ताकमा रहेको चर्चा चल्नु उनको राजनीतिक र व्यक्तिगत चरित्रका लागि सकारात्मक हुने कुरै भएन । यस्तो बेलामा पनि आफ्नै स्वार्थ हेर्ने कस्तो नेता रहेछन् भनेर नकारात्मक चर्चा शुरु भएपछि उनी तर्सिने नै भए ।

पछि बामदेव सामाजिक सञ्जालमा प्रष्टीकरण दिन बाध्य भए, ‘म कास्की जान्नँ, सकेसम्म रवीन्द्रकै परिवारबाट उम्मेदवार बनाउनुपर्छ ।’

यस्तै हो काम्रेड, चित्त बुझाउनुस् । जनमत स्वीकार गरेर अर्को निर्वाचनसम्म धैर्यधारण गरेको भए यस्तो शंका हुने नै थिएन । सांसद हुन जे पनि गर्न तयार हुँदा दुखद् घडीमा पनि शोक मनाउन दिएनन्, शंकेहरुले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *