टोकियो
टोकियोमा बिदेशी नागरिकहरुलाई निशुल्क सहयोग उपलब्ध गराउन जापान सरकारले नयाँ सहयोग कार्यालय सञ्चालनमा ल्याएको छ ।
बिदेशीका लागि भिषा, रोजगारी, कानूनी समस्या र मानविय आवश्यकताहरुमा सहयोग उपलब्ध गराउन नयाँ सहयोग केन्द्र आजबाट सञ्चालनमा आएको हो ।
गत वर्ष अप्रिलमा सुरू गरिएको नयाँ भिसा प्रणाली अन्तर्गत थप विदेशी कामदारहरू ल्याउने भएपछि जापानले यस्तो कार्यालय सञ्चालनमा ल्याउने नीति अनुसार आजबाट सञ्चालनमा ल्याएको हो ।
विदेशी बासिन्दाहरुका लागि सहयोग गर्न न्याय मन्त्रालयले राजधानीको शिन्जुकु वार्डको जेआर योचुया स्टेशन अगाडि रहेको भवनमा कार्यालय सञ्चालनमा ल्याएको छ ।
यो कार्यालयबाट नयाँ भिषामा आउने सहित जापानमा रहेका सबै बिदेशीहरुले सेवा लिनसक्नेछन् ।
जापानका न्यायमन्त्री मासाको मोरीले विदेशी बासिन्दाका लागि नयाँ खुलेको कार्यालयले राम्रो सहयोग पुर्याउने आशा व्यक्त गरेका छन् ।
विभिन्न आठवटा सरकारी कार्यालयहरुको सेवा उपलब्ध हुने यस कार्यालयमा मुख्यत आप्रवास सेवा एजेन्सी, विदेश मन्त्रालय, जापान कानूनी सहायता केन्द्र, जापान बाह्य व्यापार संगठन, टोकियो श्रम कार्यालय लगायत रहेको छ ।
बिहान ९ बजेबाट साँझ ५ बजेसम्म खुल्ने कार्यालय साप्ताहिक र सार्वजनिक बिदाका दिनमा बन्द रहनेछ । कार्यालयबाट सेवा लिनको लागि अँग्रेजी, जापानीज, चिनियाँ सहित ९ वटा भाषामा कुरा गर्न सकिनेछ । यसको लागि सहयोग केन्द्रको ०३ ५३६३ ३०१३ मा सम्पर्क राख्न सकिनेछ ।
आफ्ना समस्या तथा गुनासाहरु राख्ने विदेशीहरुको गोप्यता कायम रहने र उनीहरुसँग कुराकानी गर्नको लागि छुट्टै विशेष कक्षको समेत व्यवस्था गरिएको बताईएको छ ।
जापानले नयाँ भिषा प्रणाली अन्र्तगत नेपाल सहित ११ देशबाट अर्धदक्ष र दक्ष भिषामा ३ लाख ४५ हजार बिदेशी कामदार ल्याउने लक्ष राखेको छ ।
यस्ता भिषामा आउने कामदारहरु खेतीपाती, नरसिंग देखी विशेष शिपयुक्त व्यक्तिहरु विभिन्न १४ वटा क्षेत्रमा जापान आउनेछन् ।
नयाँ कोरोना भाइरस संक्रमणको असरका कारण जापानले ल्याउने बिदेशी कामदारको प्रक्रिया भने करिब ३ महिना अघिदेखी अवरुद्ध जस्तै रहेको छ ।
जापानमा सन् २०१९ सम्ममा २९ लाख ३० हजार बिदेशीहरु बसोबास गर्दै आएको तथ्यांकमा उल्लेख छ ।जापानमा नेपालीहरुको संख्या करिव १ लाख पुगेको अनुमान छ ।