सोल
उत्तर कोरियाली तानाशाह किम जोङ उनले सम्पुर्ण उत्तर कोरियाली नागरिकहरुलाई कोरोना भाइरसबाट बच्ने उपायहरु अवलम्बन गर्न निर्देशन दिएका छन् ।
सत्तासीन वर्कर्स पार्टीको पोलिटव्युरो बैठकलाई सम्बोधन गरेका नेता किम जोङ उनले उत्तर कोरियामा भाइरसका कारण अकल्पनीय संकट आउन सक्ने बताउदै उक्त संकट विरुद्धका लागि तयार रहन निर्देशन समेत दिएका हुन् ।
किमले शुक्रवारको पोलिटव्युरो बैठकमा उक्त विषयमा निर्देशन दिएको उत्तर कोरियाली सञ्चार माध्यमहरुले बताएका छन् । समाचार अनुसार यो बैठक कोरोना भाइरसबारे तीन महिनामा गरिएको दोश्रो बैठक हो ।
किमको पछिल्लो निर्देशनबाट उत्तर कोरियामा कोरोनाको संक्रमण व्यापक भएको आँकलन लगाउन सकिएता पनि उत्तरले भने शुन्य संक्रमणको दावी गर्दै आएको छ ।
बैठकमा किमले कर्मचारीहरुको काम गर्ने शैली प्रती असन्तुष्टि जनाउदै देखावटी रुपमा मात्र काम नगर्न निर्देशन दिएका छन् । उनले संकटका नाममा हतार हतार राहत बाँड्ने काम नगर्न समेत निर्देशन दिएका छन् । हतारमा गरिने त्यस्ता कामबाट आवश्यक परेको बेला समस्या पर्न सक्ने भन्दै सचेत हुन निर्देशन समेत दिएका छन् ।
कोरोना संक्रमितकै उपचारका लागि राजधानी प्योङयाङमा निर्माणाधिन अस्पतालको विषयमा बोल्दै उक्त अस्पतालको निर्माण गति वारे आफू सन्तुष्ट रहेको समेत बताएका छन् । उनले विषम परिस्थितिका वावजुत पनि अस्पताल तोकिएकै मिति अर्थात अक्टोवर १० अगाडी नै सकिने बताएका छन् ।
पछिल्लो पटक बसेको पोलिटव्युरो बैठकमा भने किमले कोरियाली प्रायद्वीपका विषयमा केही नबोलेको समाचारमा बताइएको छ । यस अधिका हरेक बैठकमा किमले दक्षिण कोरिया बारे अभिव्यक्ति दिने गरेकोमा यसपटक भने मौन देखिएको समाचारमा बताइएको छ ।