सिन्धुली ।
एक नेपाली बालिकाको सवा दुई करोड खर्च गरेर कान प्रत्यारोपण गरिएको छ ।
सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ की १२ वर्षीया सञ्जिता थिङको जन्मदै कान थिएन । उनको दक्षिण कोरियामा २ करोड २५ लाख खर्च गरेर कान प्रत्यारोपण गरिएको छ ।
विभिन्न संघ संस्थाहरुको सहयोगमा दक्षिण कोरिया पुगेर उनका परिवारले बालिकाको दाहिने कान प्रत्यारोपण गराएका हुन् । प्रत्यारोपणपछि उनले दाहिने कान सुन्न सक्ने भएको उनका परिवारले जानकारी दिएका छन्।
आमा शर्मिला थिङका साथमा सात महिनादेखि कोरियामै रहेकी बालिका कान प्रत्यारोपणपछि तीन दिन अघि नेपाल फर्किएकी छिन् । बालिकाकै शरीरबाट छाला निकालेर शल्यक्रिया गरी कान प्रत्यारोपण गरिएको आफन्तले जानकारी दिएका छन् ।
उनको कान प्रत्यारोपणका लागि कोरियन सामाजिक संस्था ‘एक प्रतिशत माँया बाडौं’ सहित विज्ञान लामागायतले सहयोग जुटाएका थिए ।