भदौ १ देखि अन्तर्राष्ट्रिय उडान पनि खुल्ने

मुख्य समाचार

काठमाडौं

कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै बन्द भएका व्यावसायिक हवाइ उडान करिब पाँच महिनापछि खुल्ने भएको छ।

सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन्।

यसअघि सरकारले चैत ९ देखि अन्तर्राष्ट्रिय उडान र ११ देखि आन्तरिक तर्फका व्यावसायिक उडान बन्द गराएको थियो। यसरी व्यावसायिक उडान पुनः सञ्चालन गर्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका नियमहरू भने पर्यटन मन्त्रालयले बनाउने छ।

अहिलेका लागि हामीले भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेका छौं। यसबारेमा पर्यटन मन्त्रालयले उडान प्रोटोकल तयार पार्नेछ,’ मन्त्री भट्टराईले सेतोपाटीसँग भने।

त्यसरी बनेको मापदण्डका आधारमा व्यावसायिक उडानहरू सञ्चालन हुनेछन्। यद्यपी नागरिक उड्डन प्राधिकरणले कोरोनापछिको उडान सञ्चालनका लागि एयरपोर्ट, एयरलाइन्स तथा यात्रुका लागि नियमहरू बनाइसकेको छ।

यसअघि पर्यटन मन्त्रालयले उडान सुरू गर्न सकिने रायसहितको अध्ययन प्रतिवेदन तयार पारेको थियो। विश्व स्वास्थ्य संगठनले तय गरेका स्वास्थ्य सुरक्षाका नियम पालना गर्दै उडान सुरू गर्न सकिने मन्त्रालयको अध्ययन प्रतिवेदनको निष्कर्ष थियो। अन्तर्राष्ट्रिय उडान कहाँ हुन्छ?

आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका उडान खुलाउने सरकारले निर्णय गरे पनि अन्तर्राष्ट्रिय तर्फका सबै देश र गन्तव्यमा भने उडान एकैपटक हुने सम्भावना छैन।उडान हुने दुवै देशका समान नीति र निर्णयका आधारमा मात्र उडान हुने भएकाले सबैतिर एकैपटक उडान हुननसक्ने भएको हो।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सबैतिर उडान हुने कुरा नेपालबाहेक अर्को देशको नियम तथा नीतिमा पनि भर पर्ने बताए।
‘सम्बन्धित देशको अध्यागमन र एयरलाइन्सको नीतिका आधारमा अन्तर्राष्ट्रिय उडान सुरू हुन्छन्,’ सचिव अधिकारीले भने।

सरकारले सबै अन्तर्राष्ट्रिय उडान खुला गरे पनि काठमाडौं-दिल्ली रूटमा उडान गर्न भारत सरकारको अध्यागमन नीति तथा यो रुटमा उडान गर्ने एयरलाइन्सको तयारीमा भर पर्ने भएको छ। दिल्ली विमानस्थलले काठमाडौंबाट हुने उडानलाई अनुमति नदिएको खण्डमा त्यहाँ उडान हुने छैन।setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *