कोरिया जाने प्रशिक्षार्थी कामदारबाट उठाइएको रकममा मनपरी

कोरिया समाचार

सियोल

रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च हुने गरेको पाइएको छ ।

इपिएसमार्फत दक्षिण कोरिया जाने प्रक्रियामा रहेका कोरियन भाषा परीक्षा उत्तीर्ण प्रशिक्षार्थी कामदारहरूसँग अभिमुखीकरण तालिमका लागि भन्दै उठाइएको शुल्कबाट संकलित वार्षिक करोडौं रुपैयाँ व्यावसायिक तथा सिप विकास प्रतिष्ठानले कर्मचारीको खाजा र भत्तामै खर्च गरेको देखिएको महालेखापरीक्षकको ५७औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/७६ मा मात्रै दक्षिण कोरियाका लागि प्रशिक्षार्थी कामदार पठाउन लिइएको भाषा परीक्षा उत्तीर्ण कामदारको अभिमुखीकरण तालिमका लागि भन्दै उठाइएको शुल्कबाट जम्मा भएको रकममध्ये २ करोड ८ लाख ७१ हजार रुपैयाँ प्रतिष्ठानले कर्मचारीको खाजा, खाना र भत्तालगायत खर्चमा सिध्याउने गरेको पाइएको छ ।

भाषा परीक्षा उत्तीर्ण भएकाहरूले अभिमुखीकरण तालिमका लागि व्यावसायिक तथा सिप विकास प्रतिष्ठानमा प्रतिकामदार ६३ डलरका दरले प्रशिक्षण शुल्क बुझाउँदै आएका थिए ।

सोही रकमबाट ५० जनाको समूह बनाएर तालिम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको थियो । तर, प्रशिक्षक पारिश्रमिक, खाना, खाजा, मसलन्दलगायतमा मापदण्ड नै नबनाई सो प्रतिष्ठानले गैरकानुनी तरिकाले खर्च गरेको पाइएको महालेखाले जनाएको छ ।

-राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *