अस्ट्रेलियाको मेलवर्नमा आपतकाल घोषणा, कम्तिमा ३० नेपाली संक्रमित

अन्तरास्ट्रिय

मेलवर्न

कोरोनाको दोस्रो वेभसँग जुधिरहेको अस्ट्रेलियाको मेलवर्न शहरमा आपतकालीन अवस्था घोषणा गर्दै कफ्र्यु आदेश जारी भएको छ ।

एकै दिन ६ सय भन्दा माथिको संख्यामा पोजेटिभ देखिएपछि स्थानीय सरकारले यस्तो निर्णय गरेको हो । आइतबार साँझदेखि प्रारम्भ भएको आपतकालीन अवस्थामा मेलबर्नको शहरी इलाकामा रातिको समयमा कयूं समेत लागू हुने भिक्टोरिया राज्यका सरकार प्रमुख प्रिमियर डेनियल एन्ड्रयुले बताए ।

बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म बिना काम कोही पनि बाहिर निस्कन पाइनेछैन । अत्यन्तै महत्वका विषय र कामको सवालमा मात्र अनुमति हेरेर स्थानीयलाई आवत जावतको सुविधा दिइनेछ । किनमेल र आवश्यक सर – सामान खरिदका लागि पनि बासस्थानको पाँच किलोमिटर दुरीसम्म मात्र अनुमति दिइने सरकारले जनाएको छ ।

राज्य सरकारले राज्यभित्र सञ्चालनमा आउने सबैखाले मनोरञ्जनात्मक गतिविधिहरू हालका लागि निषेध गरेको छ । खुला स्थानमा दिनमा एक घन्टा मात्र व्यायाम गर्न पाइने छ । यी प्रतिबन्धहरू आगामी ६ हप्ताका लागि लागू हुने सरकारले जनाएको छ ।

भिक्टोरिया राज्यभित्र मात्र हालसम्म लगभग १२ हजार सङ्क्रमित भेटिएका छन् जसमध्ये १ सय २३ जनाले ज्यान गुमाइसकेको अवस्था छ । भिक्टोरियाको मेलवर्न शहर वरपर बसोबास गर्दै आएका कम्तीमा ३० नेपालीलाई पनि कोरोना संक्रमण देखिएको एनआरएन भिक्टोरियाका संयोजक प्रेम कडेलले बताए ।

ठ्याक्कै संख्या एकीन गर्न नसके पनि एनआरएनको सम्पर्कमा आएका विध्यार्थी भाइ बहिनीहरु र स्थानीय गरी ३० जना भन्दा बढीमा संक्रमण भएको हामीले जानकारी पाएका छौं ‘ – उनले भने ।

उनीहरुमध्ये दश जना होटलमा र अन्य घरकै क्वारेन्टाइनमा रहेका छन् । कडेंलले सबै संक्रमित नेपालीको स्वास्थ अवस्था राम्रो रहेको र उहाँहरुलाई आवश्यक सहयोगका लागि एनआरएन भिक्टोरिया लागिपरेको बताए ।

यसैबीच दोस्रो वेभसँग जुधिरहेको अस्ट्रेलियाको एनएसडब्लु राज्य सिड्नीमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि राज्य सरकारले नागरिकहरुलाई सुरक्षाका लागि मास्क लगाउन आग्रह गरेको छ । हाल सिड्नी वरपरको क्षेत्रमा दिनहुँ १५ देखि २० जनाको बीचमा कोरोना संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *