पोखरा रंगशालामा फुटबल स्टेडियमको निर्माण सुरु

मुख्य समाचार

पोखरा : पोखरा रंगशालामा आगामी असार महिनाभित्र अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियम निर्माण गर्ने गरी स्टेडियमको शिलान्यास गरिएको छ। युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले एक कार्यक्रमका बीच स्टेडियमको शिलान्यास गरेका हुन्।

२०७६ को मंसिर महिनामा हुने १३ औं साग खेलकुदअन्र्तगत महिला फुटबल प्रतियोगिता पोखरामा संचालन गर्ने गरी २०७६ सालको असार महिनाभित्र फुटबल स्टेडियम निर्माण सम्पन्न गर्नगरी ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ।

१८ हजार ५ सय क्षमताको अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम १ अर्ब २८ करोड २२ लाख १८ हजार १ सय ७४ रुपैयाँको लागतमा बन्न लागेको हो। फुटबल स्टेडियम एक्सपानसन गरेर ३० हजार दर्शकसम्म बस्न सक्ने क्षमताको बनाउन मिल्ने गरी निर्माण कार्य अघि बढेको छ।

ग्लोबल टेन्डरबाट फुटबल स्टेडियम निर्माणको जिम्मा ग्रेट स्पोर्टस इन्फ्रा प्रालि भारत र एम ए कन्स्ट्रकसन प्रालि जावलाखेलको संयुक्तरुपमा निर्माण गर्ने जिम्मा पाएका हुन्। अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचलाय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फ्रेन्स कक्ष लगायत रहने बताइएको छ । फुटबल मैदान फिफाले तोकेको मापदण्डको हुनुपर्ने छ।

स्टेडियमलाई आधुनिक ल्फड लाइटसहित स्कोर वोर्ड, डिस्प्ले वोर्ड समेत हुनेछ।स्टेडियममा टेलिभिजनका ठूला स्क्रिन समेत जडान गरिने छन्। फुटबल स्टेडियमको शिलान्याश कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले निर्माण कम्पनीलाई समय सिमाभित्र फुटबल स्टेडियम निर्माण सम्पन्न गर्न सुझाए।

आगामी डिसेम्बर १५ देखि सुरु हुने साग खेलकुदलाई ध्यानमा राख्दै निर्माण कार्य सम्पन्न गर्न उनले निर्माण कम्पनीलाई सुझाएका हुन्।पोखरामा देशकै पहिलो अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम बन्न लागेकोले निर्माण कार्यलाई गुणस्तरीय बनाउन र समयमै सम्पन्न गर्ने वातावरण बनाउन सघाउन सहभागीसँग अनुरोध गरे।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरालाई स्पोर्टस पर्यटनको राजाधानीको रुपमा विकास गर्ने गरि परिषद अघि बढेको बताए। प्राकृतिक सुन्दरताले श्रङ्गारिएको पोखरामा हिमाल हेर्न मात्र होइन खेल खेल्न विश्वका खेलाडी आउने गरी पहिलो चरणमा नेपालमै पहिलो अन्तर्राष्ट्रियस्तरका फुटबल स्टेडियम बन्ने काम अघि बढेको बिष्टले सुनाए । कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि अनुप आचार्यले तोकीएको समय सिमाभित्र फुटबल स्टेडियम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

२०७४ को पुस महिनामा नयाँ अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माण गर्ने भन्दै पोखरा रंगशाकाको पुराना स्टेडियम भत्काइएको थियो। पुरानो स्टेडियम भत्काएको १४ महिना पछि नयाँ फुटबल स्टेडियम निर्माणका लागि शिलान्यास भएको हो।

पोखरामा फुटबललगायत खेलकुदका गतिविधि धेरै हुने भएकोले समय सिमाभित्र निर्माण गर्नुपर्ने सहरा क्लबका अध्यक्ष केशव थापाले सुझाए। २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुदका लागि निमार्ण गरिएको फुटबल स्टेडियम मर्मत संभारको अभावमा जीर्ण थियो‍। फुटबल खेल संचालन गर्दा स्टेडियम नै भत्केर दुर्घटना हुने डरका बीच खेलकुद संचालन हुँदै आएकोमा नयाँ आधुनिक स्टेडियम निमार्णले पोखरा र नेपालकै खेलकुद विकासमा महत्वपूर्ण रहने गण्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *