काठमाडौं
भाषा परीक्षा पास गरी वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने चरणमा रहेका ९ हजार नेपाली कामदार रोकिएका छन् ।
कोरियन एयरले नियमित उडानका लागि अनुमति पाइसक्दा पनि नेपालबाट प्रक्रिया पूरा गरेर श्रमिक कोरिया जान पाएका छैनन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार अहिले बिमाको समस्याका कारण श्रमिकलाई कोरिया पठाउन नसकिएको हो । कोरिया सरकारले विदेशबाट आउने श्रमिकले १० लाखको कोरोना बिमा अनिवार्य रुपमा गर्नुपर्ने प्रावधान ल्याएको छ ।
तर, नेपालमा विदेश जाने श्रमिकको हकमा कोरोना बिमा गर्ने व्यवस्था छैन । उनीहरुले वैदेशिक रोजगारको बिमा गर्ने गरेपनि अब छुट्टै कोरोना बिमा गर्नुपर्ने शर्त कोरियाको छ ।‘हामीसँग १० लाखको कोरोना बिमा गर्ने प्रावधान नै छैन,’ दाहालले भने, ‘त्यस्तो बिमा नगरी श्रमिक जान नै पाउँदैनन् ।’
दाहालका अनुसार कोरिया जाने प्रक्रियामा रहेका करिब ९ हजार कामदार यही प्रक्रियागत उल्झनका कारण रोकिएका छन् । सरकारले उनीहरुलाई जतिसक्दो छिटो प्रक्रिया सल्ट्याएर पठाउन प्रयत्न गरिरहेको उनले बताए ।
‘अब बिमाको हकमा विशेष निर्णय नै गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘नेपाली नागरिकले १ लाखसम्मको कोरोना बिमा गर्न पाउँछन्, त्यो पनि २५ हजारभन्दा बढी रकम अस्पतालमा हुने खर्चका आधारमा मात्रै पाइने हो, यो बिमा पोलिसीका आधारमा कोरियामा श्रमिक पठाउन सकिन्न ।’
बिमाकै कारण कोरिया जान नपाएपछि धेरै नेपाली हातमा आइसकेको रोजगारी गुमाएर नेपालमै थन्किनुपर्ने अवस्थामा छन् । धेरै कामदारहरु भिसाको प्रक्रिया सकेर रोकिएका छन् । भिसा आएको एक महिनाभित्र कामदार कोरिया पुगिसक्नुर्ने नियम छ ।कोरोना भाइरसको महामारीका कारण गत फागुनको पहिलो सातादेखि सरकारले वैदेशिक रोजगारीका लागि कोरिया जान रोकेको छ ।
भाषा परीक्षा पास गरेका श्रमिकले सरकारी लापरवाहीले रोजगारी नपाउने निश्चित भएको भन्दै पटक–पटक माइतीघरमा प्रदर्शन गरेका छन् ।सरकारले पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगर्दा ठूलो लगानी र मिहिनेत गरेर भाषा परीक्षा पास गरेका युवाको भविष्य अनिश्चित भएको उनीहरुको गुनासो छ ।
लकडाउनका कारण कोरिया जाने कामदारको प्रहरी रिपोर्ट, क्षयरोग परीक्षण रिपोर्ट, तालिमको प्रमाणपत्र, स्वास्थ्य प्रमाणपत्र लगायतको प्रक्रिया पनि पूरा गर्न गाह्रो छ ।
यो वर्ष सरकारले कोरियाको लागि ईपीएस भाषा परीक्षाको तालिका अझै पाएको छैन । लकडाउनका कारण हरेक वर्ष जेठमा हुने भाषा परीक्षा यो वर्ष अनिश्चित बन्न पुगेको छ ।विभागका महानिर्देशक दाहाल सन् २०२० को भाषा परीक्षा सन् २०२१ को जनवारी–फेब्रअरीतिर हुनसक्ने बताउँछन् ।
त्यसका लागि कोरियाले नै तालिका पठाउनुपर्छ । सरकारले सबै खालका परीक्षाहरु गर्न अनुमति दिएको छ । अब भाषा परीक्षा सञ्चालन गर्नेबारे पनि छलफल हुने दाहालले बताए । पुरानो तालिका अनुसार गत जेठमै भाषा परीक्षा भइसक्नुपर्ने थियो ।अनलाईन खबरबाट