कोरियाका नेपाली श्रमिकको मानसिक स्वास्थ्य समस्या न्यूनिकरणकालागि अनलाईन परामर्श गरिँदै

कोरिया समाचार

शिव भुषाल /सिओल

मानसिक स्वास्थ्य सम्बन्धी समस्या भोगिरहेका कोरियामा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरेर आईतवारदेखी ‘अनलाईन मनोसामाजिक परामर्श’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नेपाली दूतावास सिओलको आयोजना र गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको व्यवस्थापनमा हुने उक्त वेव कार्यशाला फरक फरक विषयमा हप्ताको एक दिन आईतवार साँझ ७ बजे देखि ८:३० सम्म सञ्चालन गरिने दूतावासले जनाएको छ ।

मानिसले गर्ने हरेका क्रियाकलापमा मानसिक स्वास्थ्य जोडिने विषय भएको र कोरियामा घट्ने कतिपय आत्महत्या जस्ता घटनाहरुमा पनि मानसिक स्वास्थ्य नै जोडिएको पाईएकाले उक्त विषयमा कार्यशाला गर्न लागिएको कोरियाकालागि नेपाली श्रम कन्सुलर रमा भट्टराईले बताईन् ।

यस किसिमका कार्यशालाले आत्महत्या न्यूनिकरण तथा श्रमिकमा सकारात्मक उर्जा प्राप्त गर्न सहयोग पुग्ने दूतावासको दाबी छ । विगतका वर्षहरुमा देशका विभिन्न स्थानमा परामर्श कार्यक्रम गरिँदै आएकोमा यो वर्ष कोरोना माहामारीका कारण अनलाईनबाटै भएपनि कार्यशाला गर्न लागिएको दूतावासले जनाएको छ ।

यहाँका नेपाली श्रमिकको मानसिक तथा शारिरिक स्वास्थ्य, सामाजिक र आर्थिक समस्यालाई संबोधन गर्ने उद्देश्यले अक्टोवर देखि डिसेम्बर सम्ममा १२ ओटा अनलाईन कार्यक्रम गरिने बताईएको छ ।

उक्त कार्यक्रम अन्तर्गत भोलि अक्टोवर ११ का दिन आईतवार ‘‘मानव जीवनमा योग तथा दैनिक प्रयोग विधि’’ विषयमा योग तथा ध्यान प्रशिक्षक विन्दा आचार्य मार्फत अनलाईन प्रशिक्षण दिईने छ ।दूतावासले एक्लै बस्न मन पराउने तथा निराशाजनक कुराहरु धेरै गर्ने नेपालीले म्यासेजमा आफ्ना समस्या राख्न सक्ने र पिडितको गोपनियतालाई कायम राखेर परामर्श प्रदान गरिने कन्सुलर भट्टराईले बताईन ।

जुम मार्फत गरिने कार्यशालामा जोडिन चाहनेले दूतावास, एनआरएनए कोरिया वा यहाँ क्रियाशिल अन्य नेपाली संस्थासँग सम्पर्क राखेर जोडिन सक्ने बताईएको छ ।उक्त कार्याशालाको दूतावास, एनआरएनए कोरिया र यहाँका अन्य संस्थाहका अफिशियल फेसबुक पेजमा लाईभ गरिने दूतावासले बताएको छ ।खबर पेपरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *