सोल
दक्षिण कोरियाली राजधानी सोल महानगर सरकारले राजधानी क्षेत्रमा सञ्चालित स्टोर्स, सिनेमा हल तथा इन्टरनेट क्याफेहरु बेलुका ९ बजे पश्चात बन्द गर्न निर्देशन दिएको छ ।
कोरोना भाइरस संक्रमण बढ्दै गएका कारण नियन्त्रणको प्रयासका रुपमा १४ दिनका लागि उक्त निर्देशन दिइएको सरकारी अधिकारीले बताएका छन् ।
पछिल्लो समयमा राजधानी सोल क्षेत्रमा कोरोना भाइरसका संक्रमितहरु धेरै भेटिन थालेपछि सरकारले उक्त निर्णय लिएको महानगरका कार्यकारी मेयर सियो जङ्ग हुकले अनलाइन मिडिया ब्रिफिङका क्रममा बताएका छन् ।
पछिल्लो चरणमा सरकारले बन्द गराएका ब्यापारिक संस्थानहरुमा स्टोर्स, सिनेमा हल, इन्टरनेट क्याफे, अध्ययन हलहरु, इनडोर खेल खेलाइने क्षेत्रहरु, ब्युटि सैलुन, पार्क, ठूला ग्रोसरी पसलहरु तथा डिपार्टमेन्ट स्टोरहरु रहेका छन् । ३०० बर्गमिटर भन्दा साना ग्रोसरीहरुका हकमा भने उक्त नियम लागु नहुने मेयर हुकले बताएका छन् ।
बेलुका ९ बजे पश्चात बस तथा सबवेहरु ३० प्रतिशत कम क्षमतामा सञ्चालन हुन पाउने छन् । सार्वजनिक बसमा उक्त नियम आइतबार बाट तथा सबवेमा मंगलबारबाट लागु गरिने उनले बताएका छन् ।
विद्यालयहरु भने २ हप्ताका लागि अनलाईन माध्यममा सञ्चालन गरिने तथा भौतिक उपस्थितिलाई शुन्य बनाइने समेत उनले बताएका छन् ।Hotpati