इन्छन एअरपोर्टका डिउटी फ्री स्टोर बन्द हुँदै

कोरिया समाचार

सिओल

दक्षिण कोरियाका दुई मुख्य ठूला डिउटी फ्री स्टोर सञ्चालन गर्ने कम्पनीहरु शिला र लोट्टेले इन्छन अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल नम्बर १ मा सञ्चालन गर्दै आईरहेका स्टोरहरु अर्को महिनाबाट बन्द गर्ने भएका छन्।

लोट्टे र शिला दुबैको भाडा सम्झौता गत अगष्ट मै सकिएपनि नयाँ कम्पनी ब्यवासाय गर्न भाडा सम्झौताका लागि नआएपछि ६ महिना सम्झौताको म्याद थपिएको थियो। विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस माहामारीको प्रत्यक्ष असर अहिले हवाई र एअरपोर्ट व्यवसायमा परेको देखिन्छ।

ईन्छन अन्तराष्ट्रिय विमानस्थल कर्पोरेसनले भाडा सम्झौता अवधि थप नबढाउने निश्चित भएपछि लोट्टे र शिला दुबैका डिउटी-फ्री स्टोरहरु यहि आउँदो फेब्रुअरीमा एअरपोर्टबाट हट्नेछन्।

इन्छन अन्तराष्ट्रिय विमानस्थल कर्पोरेसनका एक अधिकृतले भनेका छन् – “हामी अहिले कोरियामा कोरोना भाईरस खोपको प्रयोग अनुमति, हवाई यात्रुहरुको चाप आदि कुराहरु नियालिरहेका छौं जसले नयाँ भाडा सम्झौता दर के कस्तो राख्ने भन्ने कुरा निर्धारण गर्न सहयोग पुर्याउँदछ।

कोरियामा लोट्टे र शिलाका डिउटी – फ्री स्टोरहरु बन्द हुनुले समग्र हवाई क्षेत्र तथा यातायात क्षेत्रमा कोरोना माहामारीले पारेको गहिरो प्रभावलाई संकेत गर्दछ।

गत बर्षकोो जनवरीमै ईन्छन अन्तराष्ट्रिय विमानस्थल कर्पोरेसनले डिउटी फ्री स्टोरका लागि कम भाडादर निर्धारण गरी टेण्डर आव्हान गरेको थियो। अन्तराष्ट्रिय विमानस्थलबाट व्यवसायहरु पलायन नहुन भन्ने उदेश्यले भाडादर कम राखिएको थियो तर एअरपोर्टको यो प्रयास असफल बन्न पुग्यो। एक बर्ष बितिसक्दा पनि नयाँ कम्पनीहरु विमानस्थलमा डिउटी फ्री स्टोर खोल्न तयार नभएपछि त्यो अन्यौलता कायमै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *