इपिएस अन्तर्गत २०१९ मा लिने ईपीएस भाषा परीक्षाका लागि १० हजार ५० जनाको कोटा

मुख्य समाचार

दक्षिण कोरियाले सन् २०१९ मा लिने ईपीएस भाषा परीक्षाका लागि नेपाली कामदारको कोटा तोकेको छ। कोरियाले १६ देशमध्ये सबैभन्दा बढि नेपाली कामदार लैजाने भएको हो।आगामि मंगलबार सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन खुल्ला गर्ने तयारी गरेको छ।

यस वर्ष ईपीएस भाषा परीक्षा मार्फत ४३ हजार नयाँ कामदार लिने निर्णय गरेको कोरियाले नेपाली कामदारका लागि १० हजार ५० जनाको कोटा तोकेको छ। यसमध्ये कृषि क्षेत्रमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जनाको कोटा निर्धारण गरिएको छ।

यद्यपी कोटा अनुसार सबै कामदार लैजाने भने निश्चित हुँदैन।

ईपीएस कोरिया शाखाले यस वर्ष सञ्चालन हुने भाषा परीक्षाका लागि आगामि मंगलबार फारम खुल्ला गर्ने तयारी गरेको छ। भाषा परीक्षा पास गर्नेमध्ये सन् २०२० मा प्राथमिकताका आधारमा रोजगारीका लागि कोरिया जान पाउने छन्।

सन् २०१८ मा सबैभन्दा बढि ८ हजार ५ सय ११ जना नेपाली श्रमिक कोरिया गएका छन्। गत वर्ष भाषा परीक्षा पास गरेका मध्ये यस वर्ष ९ सय ८९ जना कोरिया उडिसकेका छन् । अरु पनि विभिन्न चरणमा कोरिया जान पाउनेछन्।
आगामि यस वर्षका लागि तोकिएको कोटा सहितको पत्र एचआरडी कोरियाले ईपीएस शाखामा पठाएको हो। ईपीएस भाषा परीक्षा गरेर कोरियाले ४ वर्ष १० महिनाका लागि रोजगारीमा लैजाने गरेको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) सुरु भएयता सन् २००८ देखि ५९ हजार ६ सय ५८ जना कोरिया पुगिसकेका छन्। तर भाषा पास गर्नेको संख्या ७० हजार ४ सय ६९ रहेको छ। भाषा परीक्षा पास गर्ने सबै पनि कोरिया जान पाउने निश्चित भने हुँदैन। ईपीएस परीक्षामा सबैभन्दा बढि गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएकोमा ७ हजार ९ सय ९६जना उत्तिर्ण भएका थिए ।

भाषा परीक्षामा सहभागी हुनेको उमेर १८–३९ हुनुपर्ने शाखाले जनाएको छ। भाषा परीक्षा उत्तीर्ण गर्नेको नामावली रोस्टर सूचीमा राखेपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन्। भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए कोरिया जान पाउँदैनन् । दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए भाषा परीक्षा उत्तीर्ण गरेकाको नाम रोस्टर सूचिबाट हट्छ ।

नेपाली श्रमिक सन् २००८ देखि ईपीएसमार्फत दक्षिण कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या ठूलो छ ।

कति रकम तिर्नुपर्छ कोरिया जाँदा ?

कोरिया जाने श्रमिकले विभिन्न शिर्षकमा ८ सय १५ डलर अर्थात करिव ९१ हजार रुपैयाँ तिर्नुपर्छ। परीक्षा शुल्क २४ डलर, स्वास्थ्य परीक्षण शुल्क ५५.६४ डलर, क्षयरोग परीक्षण १०, पासपोर्ट ५० डलर, भिसा, ६० डलर, प्रारम्भीक तालिम ६३ डलर तोकिएको छ।

यस्तै हवाई भाडा ४११.७५ डलर, बीमा ६५ डलर, कामदार कल्याणकारी कोष २५ डलर र रोजगार अनुमति प्रणाली व्यवस्थापन शुल्क ४६.२० डलर तिर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *