सप्तकोसी नदीमा रमिलाको शव खोज्दा अर्कै युवतीको शव भेटियो, नेकपा नेता योगेन्द्रलाई म्याद थप

मुख्य समाचार

विराटनगर : मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको हत्या गरेर सप्तकोसी नदीमा शव फ्याँकेको वयान दिएका बेलबारीका नेकपा नेता योगेन्द्र गुरुङविरुद्ध सोमबार म्याद थप गरिएको छ ।

व्यक्ति बेपत्ता पारेको कसुरमा तत्कालिन एमालेको बेलबारीका पूर्व अध्यक्ष समेत रहेका गुरुङविरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

‘शव फेला परेको भए कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने थियो,’ उनले भने, ‘तत्काल शव नभेटिएका कारण व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिएको हो ।’ शव फेला परेपछि भने उनीमाथि कर्तव्य ज्यान मुद्दा पनि चलाइने एसपी केसीको भनाइ छ ।

नदीमा फालेको लामो समय भइसकेका कारण बगाएर अन्यत्र पु¥याएको हुनसक्ने भएकाले शव भेटिने सम्भावना पनि कम रहेको प्रहरीले जनाएको छ । हत्या गरेर कोसी ब्यारेजबाट शव सप्तकोसी नदीमा फालिदिएको बयान अनुसन्धानका क्रममा गुरुङले दिएपछि प्रहरीले गत शुक्रबारबाट खोजी गर्ने काम भइरहेको छ । तर फागुन १७ गते रातिबाट बेपत्ता भएकी रमिलाको शव फेला पर्न सकेको छैन ।

शवको खोजीमा अर्को शव भेटियो !

बरु उक्त शवको खोजी गर्ने क्रममा अर्कै एक युवतीको शव फेला परेको छ । प्रहरी टोलीले कोसी ब्यारेजबाट अन्दाजी ८ सय मिटर दक्षिणमा शनिबार अर्को शव फेला पारेर अनुसन्धानका लागि सप्तरी प्रहरीको जिम्मा लगाएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ तर्फ अन्दाजी ३०/३२ वर्षीया पहाडे मूलको जस्तो देखिने युवतीको शव पानीभित्र सडेको अवस्थामा फेला परेको हो ।

शव खाेजीमा सक्रिय सशस्त्र प्रहरी बल । तस्बिर : किशाेर

घाँटीमा सिक्री लगाएकी युवतीको शव पूरै सडेको, शरीरका केही भाग माछाले खाएकोले नचिनिने र निर्वस्त्र अवस्थामा रहेको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बताए । उनले सप्तरीमा काहीँ पनि यस अघि महिला वा युवती बेपत्ता भएको र हराएको भन्ने कुनै निवेदन भने नपरेको बताए ।

चिनजानका कोही पनि सम्पर्कमा नआएका कारण पहिचान खुल्न नसकेको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको जानकारी उनले दिए । उनका अनुसार पुलमा अड्कीएर रहेको आशंकामा रमिलाको शव भेटिन्छ कि भनेर कोसी ब्यारेजका ५२ वटै ढोका खुल्ला गरेर खोजी गर्ने क्रममा अलि तल युवतीको शव फेला परेको हो ।

पहिचान नखुलेकी युवतीलाई पनि कोही कसैले कहीँबाट हत्या गरेर ल्याएर सप्तकोसी नदीमा फालिदिएको हुनसक्ने प्रहरीको अनुमान छ । शव निर्वस्त्र अवस्थामा भेटिएका कारण बलात्कारपछि हत्या गरेर फालेको हुनसक्ने आशंका पनि प्रहरीले गरेको छ ।

फागुन १७ गते राति बेलबारीका नेकपा नेता गुरुङले आफ्नै घरमा मुख र नाक थुनेर हत्या गरेपछि बोरामा पोको पार्दै बा १५ च ७९१६ नम्बरको गाडीमा राखेर कोसी ब्यारेज पुर्‍याएपछि रमिलाको शव नदीमा फालिदिएको बताएको एसपी केसीले बताए ।

‘सीसी टिभीका केही फुटेजले पनि उक्त गाडी फागुन १७ गते राति इटहरीबाट पश्चिम लागेको देखाउँछ,’ उनले भने, ‘भोलीपल्ट विहान ४ बजेतिर गोठगाउँबाट पूर्व लागेको पुष्टि हुन्छ ।’ कोसी ब्यारेजमा रहेको सीसी टिभी फुटेजमा पनि राति १ बजेतिर गुरुङको उक्त गाडी पुल प्रवेश गरेको देखिन्छ ।

गुरुङले कोसी ब्यारेजको २९ नम्बर गेटबाट शव नदीमा फालिदिएको बताएको प्रहरीले जनाएको छ । गत शनिबार गुरुङलाई पनि शवको खोजीका लागि कोसी ब्यारेज पु¥याइएको थियो । सोमबार साँझसम्म पनि शव भेटिएको छैन । स्थानीय बासिन्दा, नेपाल र सशस्त्र प्रहरीले खोजी जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *