नेपाल मुक्तक प्रतिष्ठान कोरियाको अभियान भाइरल

कोरिया समाचार

सिओल

नेपाली मुक्तकलाई साहित्यका अन्य विधा सरह पाठ्यक्रममा समावेश गरी विद्यालय तथा विश्वविद्यालय तहका कक्षाहरूमा अध्ययन अध्यापन गराइनुपर्छ भन्दै अहिले देश तथा विदेशबाट मुक्तकप्रेमी व्यक्तिहरू ‘सञ्जालदेखि सरकारसम्म ‘ अभियानमा लागेका छन्।

जसको नेतृत्व नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले गरेको छ। आफुले प्रयोग गर्ने सामाजिक सञ्जालमा # ह्यासट्याग दिएर पाठ्यक्रममा मुक्तक लेखी ब्यानर पोस्ट गर्ने वा आफुले पोस्ट गर्ने मुक्तक रचनासँगै उक्त ह्यासट्याग प्रयोग गर्दै सरकारलाई शान्तिपूर्ण तवरले दबाब दिने कार्य उनीहरूले गर्दै आएका छन्।

देश तथा विदेशमा रहेका करिब ४००० जना मुक्तककारहरू हाम्रो साथमा हुनुहुन्छ भन्दै नेपाल मुक्तक प्रतिष्ठान कोरियाका अध्यक्ष आर एन अधिकारीले यो सम्पूर्ण मुक्तकप्रेमी महानुभावहरूको अभियान भएको बताउनुभयो। जसले चलाए पनि यो अभियान चलाउन अति आवश्यक थियो, किनकि नेपाली काव्य जगतको निकै पुरानो विधा मुक्तक विधा समकालीन साहित्यमा सबैभन्दा रुचाइएको विधा पनि हो- उहाँले थप्नुभयो।

सञ्जाल वर्तमान परिप्रेक्ष्यमा अत्यन्तै प्रभावकारी सूचना सम्प्रेषणको साधन हुनाले यो अभियान प्रभावकारी रहेको उहाँको जिकिर छ। आकारगत रूपमा सानो भएकै कारण आजका दिनसम्म यसले उपेक्षित हुनुपरेको बताउनुभयो।बाहिरी आकारप्रकारभन्दा पनि गुणात्मक रूपमा रसोत्पादक र मिठासपूर्ण प्रभाव दिनसक्ने साहित्य नै लोकप्रिय हुने हुनाले मुक्तक अहिले साहित्यमा रोजाइको विधा भएको बताउनुभयो।

आकारगत रूपमा छोटो तर भावगत रूपमा निकै चोटिलो विधा हुनाले मुक्तक थोरै समयमा साहित्यिक रसोस्वादन दिलाउन सफल रहेको उहाँको भनाइ छ। मुक्तक लेखनमा लाग्ने, मुक्तक अभियानमा लाग्ने र मुक्तकलाई पढ्न सुन्न मन पराउँने सबैलाई यो अभियानमा हातेमालो गरेर बढ्न अनुरोध गर्दै सरकारी निकायहरूको यसतर्फ ध्यानाकर्षण हुनुपर्ने कुरा उहाँले जनाउनुभयो।

नेपाल मुक्तक प्रतिष्ठान कोरिया मुक्तकको विकास र उत्थानका निमित्त विभिन्न कार्यक्रम, सम्मेलन, गोष्ठी, मुक्तक मेला तथा मुक्तक कृति प्रकाशन गर्दै आएको संस्था हो। जसको “झिल्को” नामक संयुक्त मुक्तकसङ्ग्रह भर्खरै प्रकाशित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *