काठमान्डौ
एक भव्य समारोहका बीच राजधानीमा सूर्योदय गजल संग्रहको लोकार्पण भएको छ । डी. आर. न्यौपाने ‘सूर्य’ द्वारा लिखित उक्त गजल संग्रह विमोचन समारोहमा साहित्यकार एवं पूर्व उपकुलपति विष्णुविभु घिमिरेले प्रमुख आतिथ्यता गर्नुभएको थियो ।
गजलकार न्यौपानेको तर्फबाट प्रतिनिधिको रुपमा धर्मपत्नी मिना न्यौपाने र छोरी समीक्षा न्यौपाने उपस्थित थिए भने अतिथिहरुलाई स्वागत मन्तव्य उनकै छोरीले दिएकी थिइन् ।
अनेसास कोरिया च्याप्टको प्रकाशन र नेपाल च्याप्टरको आयोजनामा भएको विमोचन समारोह पुस्तकका सम्पादक रमेश दाहालले संयोजन गर्नुभएको थियो भने लोकार्पण समारोहमा प्रमुख अतिथि विष्णुविभु घिमिरे, अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडी, उपाध्यक्ष दिव्य गिरि, अनेसास केन्द्रिय सदस्य रेनुका सोलु, गजलकार सूर्यकी धर्मपत्नी मिना न्यौपाने लगायत मञ्चासीनहरुबाट पुस्तक लोकार्पण गरिएको थियो ।
पुस्तकका विषयमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल र डा. शान्तिमाया गिरिले विस्तृत समीक्षा गरेका थिए । सूर्यको सूर्याेदयले नेपाली साहित्यको गजल फाँटमा राप ल्याउने कुरामा विश्वस्त भएको र नेपालमा गजलको भविष्य राम्रो छैन भन्नेहरूलाई गतिलो जवाफ यो संग्रहले दिएको समीक्षक ज्ञानुवाकर पौडेलले बताउन भयो ।त्यस्तै गजलको बाह्य र आन्तरिक पक्ष बलियो भएको र संग्रहमा देशको सामाजिक ,राजनैतिक,बिषय बस्तु लगायत बिकृती बिसंगती,प्रेम बिछोड सबै पक्षलाई सबल तरिकाले प्रस्तुत गरिएको प्राध्यापक शान्तिमाया गिरिले जनाउनु भयो।
समारोहमा लोकार्पित गजलसंग्रहबाट चर्चित मुक्तककार सन्तोष अम्गाइँ, गीतकार तथा गजलकार जीवन भण्डारी,कवि तथा गजलकार जनक सन्याल,कवि तथा गजलकार गोपिकृष्ण लामिछाने लगायतले गजल वाचन गर्नुभएको थियो भने अनेसास केन्द्रीय सदस्य डा. रेनुका सोलुबाट गजलवाचन सहित शुभकामना मन्तव्य प्रकट भएको थियो । यसैगरी अनेसास नेपाल च्याप्टरका महासचिव ऋषभदेव घिमिरेले उपस्थित अतिथिहरुलाई धन्यवाद मन्तव्य दिँदै सूर्याेदय गजलसंग्रहमा नेपाली माटोको सुगन्ध फैलिएको र यस गजल संग्रहले नेपाली साहित्यिक वाङ्मयमा दरिलो इँटा थपिएको महसुस भएको कुरा बताउनु भयो।

युवा साहित्यिक पत्रकार मधुपाठकबाट सञ्चालन गरिएको लोकार्पण समारोहलाई कार्यक्रमका अध्यक्ष सन्ध्या पहाडीबाट मन्तव्यसहित विसर्जन गरिएको थियो ।प्रवासमा रहेका स्रष्टाको यति सुन्दर कृति विमोचन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको पनि अध्यक्ष पहाडीले बताउनु भयो।