दक्षिण कोरिया लगायत ६ मुलकमा बर्षौँदेखी राजदुत खाली!

कोरिया समाचार

सिओल

प्रतिनिधि चयन गरेर पठाउन सरकारको उदासीनताले कूटनीतिक मामिलामा नेपालको कार्यसम्पादनमै असर, पछिल्लो समय नेपालीको महत्त्वपूर्ण श्रम गन्तव्य र विकासको साझेदार मुलुक हो– दक्षिण कोरिया ।

सरकारले दुई वर्षदेखि त्यहाँका लागि राजदूत नियुक्त गरेको छैन । कांग्रेस कोटाका अर्जुनजंगबहादुर शाहलाई फिर्ता बोलाएपछि दक्षिण कोरियाका लागि नेपाली राजदूतको पद खाली छ ।गत वर्ष दक्षिण कोरियामा झन्डै १२ हजार नेपाली कामदार लैजाने कोटा थियो । तर कोरोनाका कारण जान पाएनन् ।

कोरियाले अन्य मुलुकबाट कामदार लिन थालिसक्दा पनि नेपालीलाई लैजानेबारे अझै अन्योल छ । नेपाललाई अझै कोभिडको उच्च जोखिम भएको मुलुकको सूचीमा राखिएको छ । यस्तो अवस्थामा सम्बन्धित मुलुकसँग कूटनीतिक ‘लबिइङ’ गर्न राजदूतको भूमिका महत्त्वपूर्ण हुन सक्थ्यो । तर सरकारले यसतर्फ चासो दिएको छैन ।

‘सरकारले कोरियामा नेपालका तर्फबाट नेतृत्व गर्ने राजदूत समयमै नियुक्त गरेको भए समस्या समाधानका लागि उचित पहल हुने थियो,’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी पूर्वउपकार्यकारी निर्देशक तथा कूटनीतिविज्ञ इन्द्र अधिकारीले भनिन् ।

श्रीलंकासँग नेपालको घनिष्ठ सम्बन्ध छ । दुवै मुलुक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बिमस्टेकका सदस्य हुन् । तर २०७६ असारमा केपी ओली सरकारले असहयोग गरेको भन्दै तत्कालीन राजदूत विश्वम्भर प्याकुरेलले राजीनामा दिएका थिए । त्यसयता श्रीलंकामा पनि राजदूत पद खाली छ ।

यस्तै, इजिप्ट, रुस, अस्ट्रिया र डेनमार्कमा पनि राजदूत पद खाली छन् । विदेशमा नेपालको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण पद लामो समयदेखि खाली हुँदासमेत सरकारले नियुक्तिको प्रक्रिया अघि बढाएको छैन । ब्राजिलमा ताराप्रसाद पोखरेलको कार्यकाल सकिइसकेको छ । उनी अहिलेसम्म उतै छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तीन वर्षअघि मन्त्रालय सम्हालेलगत्तै ‘राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५’ तयार गरेका थिए । उक्त निर्देशिकामा ‘राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै नयाँ नियुक्तिको प्रक्रिया थाल्ने’ उल्लेख छ ।

नेपालका ३० वटा मुलुकमा दूतावास, तीनवटा संयुक्त राष्ट्रसंघीय स्थायी नियोग, पाँच महावाणिज्य दूतावास र एउटा वाणिज्य दूतावास छन् । तीमध्ये बहराइन, जापान, म्यान्मार, ओमान र साउदी अरेबियामा अबको तीन महिनाभित्रै खाली हुँदै छ ।

बहराइनमा राजदूत पदम सुन्दास, जापानमा प्रतिभा राणा, म्यान्मारमा भीमकुमार उदास, ओमानमा शर्मिला पराजुली ढकाल र साउदी अरबमा महेन्द्रप्रसादसिंह राजपूतको कार्यकाल सकिँदै छ । निर्देशिकाअनुसार उनीहरूको स्थानमा समेत सरकारले अहिले नै नियुक्तिको प्रक्रिया थालिसक्नुपर्ने हो ।

कूटनीतिविज्ञ दिनेश भट्टराई लामो समयसम्म राजदूत नियुक्त नहुनुलाई गलत मान्छन् । खाली भएका स्थानमा राजदूत नियुक्तिमा ढिलाइ गर्दा सम्बन्धित मुलुकहरूले नेपालले उनीहरूसँगको सम्बन्धलाई महत्त्व नदिएको ठान्ने उनले बताए । ‘आफैंले बनाएको निर्देशिका सरकारले पालना नगर्नु गलत हो,’ उनले भने, ‘निर्देशिका ल्याएपछि त्यहीअनुसार राजदूत नियुक्तिको काम गर्नुपथ्र्यो । तर त्यहाँ मेरिटको आधार नहेर्दा र दलीय भागबन्डाले समस्या भइरहेको छ ।’

उनले दक्षिण कोरियामा ठूलो संख्यामा नेपाली कामदार रहेको उल्लेख गर्दै त्यहाँ नेपाली राजदूतबिना काम गर्न गाह्रो हुने टिप्पणी गरे ।सरकारले ५० प्रतिशत करिअर (परराष्ट्र सेवा) र ५० प्रतिशत राजनीतिक कोटाबाट राजदूत नियुक्त गर्दै आइरहेको छ । परराष्ट्र सेवातर्फको कोटामा खाली भएलगत्तै नियुक्त हुने गरे पनि राजनीतिक कोटामा लामो समयसम्म खाली रहँदै आएको छ । दक्षिण कोरियामा दुई वर्षदेखि राजदूत खाली रहनुमा पनि त्यही कारण हो ।

परराष्ट्र मन्त्रालयले निर्देशिकाअनुसार ‘राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै नयाँ नियुक्तिको प्रक्रिया थाल्ने’ भने पनि कहिल्यै पालना नगरेको कूटनीतिविज्ञ अधिकारीले बताइन् । ‘दक्षिण कोरियाले नेपाललाई अहिलेसम्म पनि कोभिड–१९ को रिस्क रहेको मुलुकको सूचीमा राखेको छ । हाम्रा राजदूत त्यहाँ भएका भए नेपालका बारेमा जानकारी दिएर कामदारको हिसाबमा आवश्यक पहल गर्न सक्थे,’ उनले भनिन् ।

कुनै पनि मुलुकमा राजदूत पद खाली रहँदा त्यहाँ पहिलाको राजदूतले गरेको राम्रो काममा समेत धक्का पुग्ने अधिकारीको भनाइ छ । ‘त्यसैले समयमै राजदूत नियुक्त गर्न सक्नुपर्छ,’ उनले भनिन् ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले तीन वर्षदेखि रिक्त रहेका स्थानमा राजदूत नियुक्तिका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताए । ‘राजदूत नियुक्त गर्ने मुख्य रूपमा सरकारको काम हो । मन्त्रालयको काम कुन–कुन मुलुकमा खाली हुँदै छन्, खाली छन् भन्ने विषयको जानकारी दिने हो,’ उनले भने ।ईकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *