कोरिया रोजगारीमा जानेलाई बायोमेट्रिक लागू अनिवार्य ,नक्कली परीक्षार्थीका दिन गए

कोरिया समाचार

सिओल

दक्षिण कोरिया जाने नेपाली श्रमिकका लागि रोजगार प्रक्रियाका सबै चरण अबदेखि बायोमेट्रिकमा हुने भएको छ । यो कार्यान्वयन गर्ने योजना सहित इपिएस शाखाले सम्पूर्ण तयारी पुरा गरिसकेको छ ।

वैदेशिक रोजगार बिभागबाट प्राप्त जानकारी अनुसार आगामी भाषा परीक्षादेखि बायोमेट्रिक लागू हुनेछ । यो निर्णयले खेताला परीक्षार्थी बनेर पास गराउने धन्दा चलाएकाहरुलाई भने तनाब हुने भएको छ ।

कोरिया जान चाहेकाहरुबाट चर्को अशुली गरेर एउटा व्यक्तिको नाममा अर्कै व्यक्तिले भाषा परीक्षा दिएर कोरिया पठाउने गरेपछि बायोमेट्रिक गराउन कोरियालेनै ध्यानाकर्षण गराएको थियो ।

त्यसै अनुसार कोरिया रोजगारीको परीक्षादेखि रोजगारीको लागि कोरिया पुग्दासम्मको चरणमा बायोमेट्रिक गर्नु पर्ने लागु भएको श्रम मन्त्रालयका आईटि प्रमुख राजु श्रेष्ठले जानकारी गराएका छन् ।

श्रेष्ठका अनुसार कोरिया जानको लागि भाषा परीक्षामा फारम भरेपछि परीक्षा दिनु अघि बायोमेट्रिक गर्नुपर्ने छ । त्यसपछि कोरिया रोजगारीमा पुग्दासम्म सोहि बायोमेट्रिकको आधारमा बिभिन्न चरणहरु श्रमिक प्रमाणीकरण हुनेछन् । यसरी प्रमाणीकरण हुँदा एक व्यक्तिले कोरियाको भाषा परीक्षा दिएर अर्कै व्यक्ति कोरिया पुग्ने सम्भावना हुँदैन ।

गत बर्ष रोजगारीका लागि दक्षिण कोरिया जाने अन्तर्गत ईपीएस भाषा परीक्षामा खेताला परीक्षार्थी बनेर कमाउन पल्केका एक प्रशिक्षक पक्राउ परेका थिए । त्यस अघिपनि नक्कली परिक्षार्थीहरु पक्राउ परेका थिए ।

कोरिया पठाउने आश्वासन सहित यसअघि विभिन्न समयमा कोरियन भाषाको ईपीएस परीक्षाका कमजोर विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारेर एक पटकको परीक्षा दिएवापत सात लाखसम्म असुलेको पाइएको थियो ।

यसरी काम गर्ने खेतालाई परीक्षार्थीको धन्दामा कति जना संलग्न छन् थाहा छैन तर अब भने परीक्षामा सहभागी हुनुअघि जसको बायोमेट्रिक गरिएको छ, सिस्टमले त्यसैलाई मात्र अन्य प्रक्रियामा प्रमाणित गर्ने हुँदा नक्कली परीक्षार्थी भाषा परीक्षामा उपस्थित हुने बाटोको अन्त्य भएको छ ।

विगतमा कोरिया भाषा परीक्षामा वास्तविक परीक्षार्थीको प्रवशेपत्रमा आफ्नो तस्वीर राखी परीक्षा दिएर खेताला परीक्षार्थीहरुले चर्को रकम अशुली गर्ने धन्दा चलाइरहेका थिए । बायोमेट्रिक परीक्षण लागू भएसंगै अब कोरिया भाषा परीक्षा लिने सबै सेन्टरहरुमा बायोमेट्रिक परीक्षणको व्यवस्था गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *