सिओल
दक्षिण कोरियामा कोरोना महामारी सुरु भएयताकै दैनिक उच्च संक्रमण देखिएको छ । त्यहाँ २०२० को जनवरी २० मा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । कोरियामा एकैदिन १२ सय ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । साथै कोरियामा यसअघि एक दिनमा १२ सयभन्दा बढीलाई संक्रमण पुष्टि भएको थिएन ।
संक्रमण बढ्न थालेपछि अधिकारीहरुले थप कडाइ गर्न सुझाव सरकारलाई दिएका छन् । रोग नियन्त्रण तथा रोकथाम केन्द्र(केडिसिए)का अनुसार संक्रमितको संख्या १ लाख ६४ हजार २८ पुगेको छ भने २ हजार ३४ जनाको मृत्यु भएको छ ।
भीडभाड र जमघटले संक्रमण बढेको निष्कर्ष निकाल्दै स्वास्थ्य अधिकारीहरुले भौतिक दुरी कायम राख्नुपर्ने व्यवस्थालाई अझ कडा गर्न सरकारलाई सिफारिस गरेका छन् । यदि यसो नभए संक्रमणले भयावह रुप लिने चेतावनी उनीहरुले दिएका छन् ।
५ जनासम्मको निजी भेटघाटमा पनि प्रतिवन्ध लगाइएको छ भने रेष्टुरेन्टहरु राती १० बजे बन्द गर्ने निर्णय भइसकेको छ । साथै २ वा सोभन्दा बढी व्यक्तिबीचको निजी भेटघाट ६ बजेपछि गर्न पाइने छैन । राष्ट्रपति मुन जु इनले कोभिडको टेस्ट र ट्रेसिङलाई बढावा दिन सेना, प्रहरी र राष्ट्र सेवकलाइ निर्देशन दिइसक्नुभएको छ । कोरियमा चौथो लहरको जोखिमलाई मध्यनजर गर्दै थप कडाइको तयारी भएको छ ।