गोविन्द बानियाँ पाँच वर्षदेखि कोरियामा छन्। कोरिया नेपालीहरुको प्रमुख गन्तव्य मुलुकमध्येको एक हो। इपिएस प्रणाली अन्तर्गत कोरिया पुगेर उनी कार्यरत छन्।
म्याग्दीको बेनी नगरपालिका वडा ५ घर भएका उनी नेपालमा छँदा विभिन्न अनलाइन, टेलिभिजनहरुमा काम गर्थे।आर्थिक हिसाबले सुरक्षित हुन साथै भविष्य आशलाग्दो बनाउने उद्देश्यले अरु नेपाली युवाजस्तै उनी कोरिया हान्निएका हुन्।
कोरियामै निरन्तर बस्ने कि नेपाल फर्केर त्यतै केही काम, व्यवसाय गर्ने भन्नेबारे उनले निर्णय गरिसकेका छैनन्। अवस्था हेरेर भोलिको योजना बनाउने उनको भनाइ छ।
गोविन्द सामाजिक सञ्जालमा निकै सक्रिय छन्। खासगरी ट्विटरमा उनी आफ्ना धारणा राखिरहेका हुन्छन्।नेपालको अवस्था, राजनीतिक गडबढी अनि विकृतिहरुका बारे उनी लेखिरहन्छन्। यस्तै उनी रमाइलो खालका सन्देश दिएर आफ्ना फलोअरहरुलाई आकर्षित गर्नेमा पनि चिनिन्छन्।
लाखौं युवा भविष्यको खोजीमा विदेशिएका छन्। गोविन्द पनि तिनैमध्येका एक हुन्। उनी विदेशिने नेपाली युवाको प्रतिनिधिमूलक व्यक्ति हुन् भन्दा फरक नपर्ला।
यसपटक हामीले उनै गोविन्दसँगको अन्तरङ्ग कुराकानी प्रस्तुत गरेका छौं।
तपाईंको पारिवारिक पृष्टभूमिबारे केही बताउनुस् न..
सामान्य परिवारमा जन्मिएँ। आम नेपालीजस्तै हुर्किएँ। दुई बहिनी र एक भाइ छन्।
नेपालमा कहाँ कहाँ कतिसम्म पढ्नुभयो?
गाउँकै ज्योति निमाविमा कक्षा ७ सम्म पढें। गलेश्वर माविबाट एसएलसी अनि त्यसपछि ११ र १२ क्याम्ब्रिज कलेज बल्खु र आरआर क्याम्पसबाट पत्रकारितामा स्नातकसम्म अध्ययन गरेँ।
नेपालमा के गर्नुहुन्थ्यो?
काठमाडौंमा अध्ययन सँगसँगै पत्रकारिता गरें। केही रेडियो र टेलिभिजनहरुमा काम गरेँ। साथसाथै आफ्नै मिडिया र अनलाइन व्यवसाय सञ्चालन गरें।
कोरिया आएको कति भयो?
कोरिया आएको पाँच वर्ष पुरा भयो।
कोरियामा के गर्दै हुनुुहुन्छ?
इपिएस मार्फत रोजगारीमा आएर कोरियामा एउटा व्यापारिक कम्पनीमा कार्यरत छु।
नेपाल छाडेर कोरिया आउन के कुराले प्रेरित गर्यो?
नेपाल छोड्ने दिन आउला भनेर कहिल्यै सोचेको थिइनँ। पत्रकारितासँगसँंगै व्यवसाय पनि गरिरहेके थिएँ। तर सानो पुँजीबाट ठूलो सपना पुरा गर्न नसकिने रैछ। जुन सपना देखेर त्यो व्यवसाय शुरु गरेको थिएँ त्यो पुरा गर्न सकिन, त्यसैको आधार निर्माणका लागि म कोरिया आएको हुँ।
विदेश आउने निर्णय गरेर ठिक गरिएछ कि बेठिक गरिएछ भन्ने लाग्छ?
मैले जे गरें त्यसमा कुनै गुनासो छैन। सोची विचार गरिवरी निर्णय गरेको हुँ।
कोभिड–१९ महामारीमा आफूले भोगेका केही सम्झनयोग्य घटनाहरु छन्?
त्यस्तो विशेष भोगाइ त केही भएन। कोरियामा लकडाउन भएन। तर शुरुवाती समयमा मास्क अभावले मास्क किन्न आफ्नो जन्ममिति अनुसार दिन मिलाएर जानुपर्ने समय चाहिँ स्मरणयोग्य छ।
अब ढुक्कै कोरिया बसाइ हुन्छ कि नेपाल फर्कने?
अब एक वर्ष भिसा बाँकी छ। नेपाल फर्कन्छु। त्यसपछि वातावरण कस्तो बन्छ त्यो अनुसार फेरि फर्कने वा देशमै केही गर्ने सोच्नेछु।
भरखरै आएका वा आउन चाहनेले कोरियामा कसरी सफलता हासिल गर्ने?
कोरियामा सफलता हासिल गर्ने एउटै सूत्र भनेको कडा मिहिनेत नै हो। मिहिनेत गरे सफलता प्राप्त हुन्छ। हामी रहरले होइन बाध्यताले यहाँ आएको हो भन्ने बुझेर मिहिनेत गरौं र आफ्नो उद्देश्य पुरा गरौं भन्न चाहन्छु।
नेपाल कत्तिको सम्झना हुन्छ?
नेपालको धेरै सम्झना हुन्छ। आफू जन्मेको हुर्केको देशको सम्झना नहुने भन्ने त कुरै भएन।
नेपाल राम्रो कि कोरिया?
भौगोलिक हिसाबले नेपाल धेरै राम्रो। प्राकृतिक सुन्दरता त्यत्तिको अन्त कमै पाइन्छ। यसै पनि आफ्नो देश भन्दा अरुको देश राम्रो कहाँ लाग्छ र! तर प्रविधि, विकास, नीति नियमका हिसाबले कोरिया राम्रो लाग्छ।
नेपालको बढी के के ‘मिस’ हुन्छ?
नेपालका परिवार, साथीभाइ र आफन्तहरु धेरै मिस हुन्छ।
खासगरी कुन बेला बढी सम्झना आउँछ?
चाडबाडको बेला एकदमै धेरै सम्झना आउँछ। अनि परिवार आफन्तमा कोही बिरामी पर्दा एकदम बढी सम्झना आउँछ।
गइहालौं जस्तो पनि लाग्छ कहिलेकाहिँ?
कैहिलेकाहिँ काम गाह्रो हुँदा त्यस्तो लाग्छ। अनि आफ्नो परिवार, आफन्तहरुमा कुनै समस्या पर्दा गइहालौं जस्तो लाग्छ।
नेपालमा आफन्त, साथीसंगीसँग कत्तिको सम्पर्क हुन्छ?
नढाँटी भन्नुपर्दा कामको कारणले समय अभाव हुने भएकाले त्यति धेरै सम्पर्क हुन्न।
भान्सामा बढी के पाक्छ, नेपाली खानाका परिकारको कत्तिको याद आउँछ?
काम गर्दा बिहानको खाना कम्पनीमै खाइन्छ। साँझको खाना आफैं बनाएर नेपाली स्वाद नै खाइन्छ। नेपाली स्वादमा दाल भात मासु नै त हो। यहाँ धेरै नेपाली रेष्टुरेन्टमा नेपाली स्वादका परिकार पाइने भएकाले समय हुँदा पुगेर खाइन्छ। त्यसैले त्यति धेरै मिस भएको छैन।
एनआरएनएमा आवद्ध हुनुहुन्छ कि छैन, अरु नेपाली संघ संस्थामा?
एनआरएनसँग पनि प्रत्यक्ष, अप्रत्यक्ष संलग्न छु। खासगरी म्याग्दीबाट कोरिया आएका नेपालीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मा उपाध्यक्ष छु।
कोरियाका नेपाली संघ संस्थाप्रति तपाईंको कस्तो धारणा छ?
कोरियामा रहेका नेपाली संघ संस्थाहरुले यहाँ कसैलाई कुनै अफ्ठ्यारो पर्दा एकजुट भएर सरसहयोग गर्छन्। त्यसैले म सकारात्मक नै छु। तर हरेक कुरामा राजनीति जोडेर हेर्ने प्रवृत्ति भने मन पर्दैन।
चाडपर्वमा सामुहिक सहभागिता कतिको हुन्छ?
चाडपर्वमा पहिले त सामुहिक सहभागी हुने अनि चाडबाड सँगै मनाउने गरिन्थ्यो तर कोरोना महामारीपछि त्यो सबै हरायो। अब चाँडै फेरि सहज दिन आउलान् भन्ने आशा छ।
नेपाली समाचार कतिको चासो लाग्छ, कसरी अपडेट हुनुहुन्छ?
म समाचारमा एकदमै रुचि राख्छु। खासगरी ट्विटर, अनलाइन अनि रेडियो सुनेर अपडेट हुन्छु।
कुनै अपर्झट अवस्था आइपरेको छ घर जाने, छ भने त्यस्तो बेला जान पाइएको छ, कि छैन?
त्यस्तो त केही परेको छैन। तीन वर्षअघि जान मन लागेको बेला गएर फर्किएँ।
कतिको घुम्नुहुन्छ, नेपालका कुन कुन ठाउँ घुम्न मन छ?
मलाई घुम्न एकदम मन पर्छ। नेपालका धेरै ठाउँ पुगेको पनि छु। अब मलाई रारा र भेडेटार पुग्न मन छ।
फुर्सदमा के कस्ता सामग्री अध्ययन गर्नु हुन्छ, नेपाली किताब नपढेको कति भयो?
फुर्सदमा केही सिक्न सकिने कुराहरु नै पढ्छु। नेपाली पुस्तक चाहिँ नपढेको धेरै नै भयो।
कस्ता गीत सुन्न मन पर्छ? मनपर्ने नेपाली गीत कुन कुन हुन्?
मलाई पुराना नेपाली गीतहरु मन पर्छ। पुराना सदाबहार गीतहरु सुन्ने गर्छु।
भरखरै हेरेको नेपाली फिल्म कुन हो?
नेपाली फिल्म नहेरेको धेरै भयो। यसै पनि अचेल फिल्म हेर्न पाएको छैन। पछिल्लो पटक ‘मालिका’ फिल्म हेरेको थिएँ।
मनपर्ने नेपाली फिल्म र मनपर्ने नेपाली अभिनेता अभिनेत्री?
नयाँ फिल्महरु त त्यति हेर्न पाएको छैन। केही पुराना फिल्महरु मन पर्छ। ‘दर्पण छायाँ’, ‘मुग्लान’ र पछिल्लो समयको ‘लुट’ फिल्म एकदमै मन परेको थियो। कलाकारमा रेखा थापा मन पर्छ।
घरमा नानीबाबुले पनि नेपालीमा लेखपढ गर्छन्?
नेपालमै भएकाले नेपाली नै पढ्दै छन्। नेपालीपन, नेपाली संस्कारसँग उनीहरु प्रत्यक्ष अनुभवी भइरहेका छन्।
कोरिया बस्दा नेपालको र नेपाल जाँदा कोरियाको साह्रै मिस हुने कुरा के के हुन्?
कोरिया बस्दा नेपालको परिवार साथीभाइ र आफन्तहरु मिस हुन्छ। कोरियन खाना एकदमै मन पर्ने भएकाले नेपाल जाँदा कोरियाको खाना मिस हुन्छ।
नेपालबारे कोरियालीहरु कतिको जान्दछन्? ‘नेपालबाट आएको’ भन्दा उनीहरुको प्रतिक्रिया कस्तो हुन्छ?
नेपालबाट आएको भन्दा हिमालको बारेमा धेरै थाहा भएको बताउँछन्। माउन्ट एभरेष्ट र अन्नपूर्णको नाम लिन्छन्। नेपालबाट आएको भन्दा चिसो छ होला हिमाल नजिक भएकाले भन्छन् कोरियनहरु।
सरकार र सरोकारवालाले कोरियाबाट के सिकुन् भन्ने लाग्छ? अनि, नेपालबाट कोरियाले सिक्नुपर्ने कुरा केही छ?
कोरियाबाट समय र श्रमको महत्व र नीति नियम र राज्यप्रतिको बफादारिता सिक्नुपर्छ भन्ने लाग्छ। नेपालबाट कोरियाले सिक्नुपर्ने इमान्दारी, मिहिनेत र लगनशीलता हो।Nepaltouch