विराटनगर : विराटनगरमा मंगलबारबाट सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ।
प्रतियोगितामा सहभागी टिमहरु नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सका कप्तानहरुले संयुक्त रुपमा उचालेर ट्रफी सार्वजनिक गरेका छन्। विराटनगरमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित प्रिम्याच प्रेस कन्फरेन्समा ट्रफी सार्वजनिक गरिएको हो।
प्रेस कन्फरेन्समा सबै देशका प्रशिक्षक र टिमका कप्तानहरुले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाइएको बताए। महिला साफमा अहिलेसम्मकै शक्तिशाली मानिएको भारतले पनि उपाधि रक्षा गर्ने हिवासमा आफ्नो तयारी रहेको जनाएको छ।
प्रतियोगिताको उद्धघाटन पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने गर्ने तय भएको छ। उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता एवं केन्द्रीय सदस्य किरण राईले प्रतियोगिता आयोजना गर्न विराटनगर तयार भएको जानकारी दिए। उनले प्रतियोगितामा भाग लिने छ वटै मुलुकका खेलाडी टिम विराटनगरमा आइसकेको बताए। यसको अनुमानित खर्च एक करोड ६५ लाख रुपैयाँ रहेको जनाएको छ।
एन्फाले दर्शकको सुविधाका लागि पानीको बोतल बाहेक हेल्मेट, छाता, डन्डालगायत अन्य केही वस्तु मैदानभित्र लैजान निषेध गरेको छ। प्रतियोगिताको लिग चरणका खेलका लागि एन्फाले ३ सय र २ सय दरका टिकट बिक्री गर्नेछ। विराटनगरमा पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीको आगमनसँगै सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।
अहिले बिराटनगर रंगसालामा जारी खेल यहाँ हेर्नुहोस्