तीन करोड वन लगानी कोष सहित “उद्यमशील युवा मञ्च द. कोरिया” संस्था गठन

कोरिया समाचार

द.कोरिया

तराईका विभिन्न जिल्लामा आबद्ध उद्यमशील युवाहरू मिलेर तीन करोड वन लगानी कोष सहित “उद्यमशील युवा मञ्च द.कोरिया” संस्था गठन गरेका छन् ।

दक्षिण कोरियामा रहेका अन्य विभिन्न सामाजिक, राजनीतिक तथा साँस्कृतिक संस्थाहरू भन्दा अलग उद्देश्य तथा विचार धारा रहेको यस संस्थाले द. कोरियाबाट आफ्नो कार्यकाल सकाएर नेपाल जाने र नेपालमा रहेका उद्यमशील युवाहरूले आफ्नै जिल्लामा कोरियन प्रविधि मार्फत आधुनिक कृषि प्रणालीको विकास, लघु उद्योगहरू संचालन तथा महिला सशक्तीकरण कार्यक्रमहरूमा सहकारीको माध्यमबाट लगानी गर्ने जानकारी संस्थाका संस्थापक अध्यक्ष नरेश मेहताले जानकारी गराउनु भयो ।

यस संस्थाले नेपालको ग्रामिण क्षेत्रमा उद्योग स्थापनाको सम्भाव्यताको अध्ययन गरी सहकारीमा आधारित भएर लगानी गर्नेछ ।पहिलो चरणमा सुनसरी र मोरङ जिल्लामा सहकारी दर्ता प्रक्रिया अन्तिम चरणमा रहेको र दोस्रो चरणमा तराईका अन्य जिल्लाहरू सर्लाही, रौतहट र कपिलवस्तुमा चाँडै सहकारी दर्ताको प्रक्रियालाई अगाडि बढाई तराईका सबै जिल्लामा आफ्नो पहुच पुर्याइनेछ ।

संस्थाका ब. उपाध्यक्ष अवदेशराज चौरसियाले यस संस्थाको मुख्य उद्देश्य कोरिया तथा नेपालमा उद्यमशील युवाहरूको खोजी गरी नेपालमा आर्थिक क्रान्तिका लागि उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने रहेको जानकारी गराउनु भयो । संस्थाको लगानी कोष तथा आर्थिक पारदर्शिता सहकारी एप्सको माध्यमबाट आफ्नै मोबाइलबाट सेयर, लोन र वचतको जानकारीहरू लिन सकिने कुराको जानकारी संस्थाका आर्थिक व्यवस्थापक विशाल चौधरीले जानकारी गराउनुभयो ।

○ संस्थाका सम्भावित लगानीका क्षेत्रहरू:-

उद्योग स्थापना : विदेशमा आर्जित सीप तथा नेपालमा सम्भावित औद्योगीक सीपको प्रशिक्षण गरी नेपालमा साना तथा मझौला घरेलु उद्योगहरु स्थापना गर्ने ;जस्तै : कागज कप निर्माण उद्योग, मसला उत्पादन खेती , प्रशोधन तथा प्याकिङ्ग, भुजीया – विस्कुट उद्योग स्थापना तथा बिक्री, खेलौना निर्माण उद्योग स्थापना ,चप्पल बनाउने उद्योग अगरवती उद्योग,चामल ,आँटा उत्पादन तथा प्रशोधन उद्योग, कपडा कटिङ् तथा वुटिक उद्योग, जुस उत्पादन प्रशोधन तथा बिक्री, फर्निचर उद्योग स्थापना , दुध उत्पाद तथा प्रशोधन गर्ने डेरि संचालन आदि ।

कृषि क्षेत्रमा :- दक्षिण कोरिया तथा अन्य देशहरुमा प्रयोग गरिने आधुनिक कृषि प्रविधिहरुको तालिम तथा प्रशिक्षण गरी नेपालमा रहेका युवाहरुलाई आधुनिक कृषि कार्यक्रम मार्फत निम्न क्षेत्रमा लगानी गरिनेछ ।जस्तै; गीनहाउस निर्माण तथा व्यवस्थापन गरी बाह्रै महिना सिजनल खेतीहरु गर्ने, व्यवसायिक खेतीहरु जस्तै : खुर्सानी खेती , अदुवा खेती , विभिन्न फूलहरुको उत्पादन तथा प्रशोधन गर्ने, कृषि फर्म , नर्सरी निर्माण लगायतका व्यवसाय संचालन गर्ने, माछा पालन , गाई र्फम , बाख्रा र्फम लगायतका व्यवसाय संचालन गर्ने,

शैक्षिक क्षेत्रमा लगानी :
शैक्षिक स्तर उच्च भएका युवाहरुद्वारा प्राईभेट स्कुल तथा सीप प्रशिक्षण इन्स्टीच्युटहरु जस्तैः कम्प्युटर तालिम, कुक तालिम, सिलाई बुनाई लगायतका तालिमहरु संचालन गर्ने, कोरियण भाषा पढ्ने युवाहरुलाई शैक्षिक लोन दिने,

अन्य: व्यावसाय पसलहरु जस्तैः किराना पसल , मोबाईल मर्मत तथा बिक्री केन्द्र, ईलेक्ट्रिक समान बिक्री पसल संचालन गर्ने, सिलाई बुनाईलाई आधुनीकीकरण गरी बुटिक उद्योग मार्फत व्यवसाय ड्रेस निमार्ण गर्ने लगायतका सम्पूर्ण उद्यमशील कार्यक्रमहरूमा लगानी गरिनेछ।नेपालयन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *