पुस एक गतेदेखि कोरियन भाषा परीक्षा हुने

कोरिया समाचार

सिओल

राेजगार अनुमती प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरुका लागि सन् २०२१ को भाषा परीक्षा हुने भएको छ। इपिएस शाखा ग्वार्कोले एक सूचना जारी गर्दै आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुने जानकारी दिएको हो। शाखाका अनुसार परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुने छ। उक्त परीक्षा पुस ७ गतेसम्म चल्नेछ।

गत वर्ष भने कोभिडका कारण भाषा परीक्षा हुन सकेन। सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २ सय १५ जना युवाहरुले सहभागिता जनाएका थिए। उनीहरुमध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए। उत्तीर्ण गरेका मध्यबाट १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइएको थियो। तर कोरोनाका कारण उनीहरुले प्रवेश पाउन सकेका छैनन्। लामो समयपछि प्रतिवद्ध कामदार भने लैजान सुरु गरेको छ।

दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ। सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए। उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए। ३०८ महिलासहित छ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए।

सन् २००९ मा भने भाषा परीक्षा सञ्चालन भएन। सो वर्ष अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ९११ युवाले कोरियाको श्रम बजारमा प्रवेश गरेको इपिएस शाखाको तथ्यांकले देखाउँछ। सन् २०१० मा दुई हजार ३३९, २०११ मा तीन हजार ९८३, २०१२ मा छ हजार ३३२, २०१३ मा पाँच हजार ४६, २०१४ मा छ हजार २८, २०१५ मा पाँच हजार ८६६, २०१६ मा आठ हजार ७९, २०१७ मा सात हजार ८०० र सन् २०१८ मा आठ हजार ५११ ले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेका थिए। नेपालीहरु मेहनती र इमान्दार भएको भन्दै कोरिया रोजगारदाताको रोजाइमा पर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published.