ट्राफिक प्रहरीलाई अतिरिक्त भत्ताको प्रस्ताव : डीएसपीलाई १०, जवान ३५ प्रतिशत

मुख्य समाचार

काठमाडौं । गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई आधारभूत तलबअनुसारको अतिरिक्त भत्ता प्रस्ताव गरेको छ । मन्त्रालयले तयार पारेको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ ।

गृह मन्त्रालयको प्रस्तावमा १० देखि ३५ प्रतिशतसम्म अतिरिक्त भत्ता उल्लेख गरिएको छ । यस्ता भत्ता पाउनेमा प्रहरी नायब उपरीक्षक (डीएसपी) देखि जवान र कार्यालय सहयोगीसम्मका छन् । मन्त्रालयले पठाएको प्रस्ताव काठमाडांै उपत्यकामा खटिने ट्राफिक प्रहरीका लागि मात्र हो । हाल उपत्यकामा १ हजार २ सय ट्राफिक प्रहरी कार्यरत छन् ।

सडक व्यवस्थापनका लागि दैनिक १५ घण्टासम्म खटिनुपर्ने ट्राफिक प्रहरीको तलब सुविधा कम भएको भन्दै उनीहरूका लागि भत्ता वृद्धि गर्न माग हँुँदै आएको थियो । यसअघि नियम उल्लंघन गरेबापत संकलन हुने राजस्वबाट ट्राफिकलाई निश्चित प्रोत्साहन भत्ता दिइँदै आएको थियो । कारबाहीबाट उठेको रकमबाट प्रोत्साहन भत्ता पाउने भएपछि ट्राफिक प्रहरीले जथाभावी कारबाही गरेर राजस्व संकलन गर्ने गरेको गुनासो बढ्न थालेपछि सरकारले त्यसमा रोक लगाएको थियो ।

गृह मन्त्रालयले ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तासम्बन्धी निर्देशिका, २०७५ अनुसार भत्ताका लागि सिफारिस गरेको हो । यो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेपछि मात्रै लागू हुनेछ ।

कसलाई कति भत्ता ?

ट्राफिक प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई आधारभूत तलबको १० प्रतिशत भत्ता पाउने प्रस्ताव मन्त्रालयले गरेको गरेको छ । यस हिसाबले डीएसपीले अहिले पाउँदै आएको ३४ हजार २२० मा ३ हजार ४२२ रुपैयाँ थप हुनेछ ।

यसैगरी प्रस्तावित अतिरिक्त भत्तामा प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई २० प्रतिशत र प्रहरी नायब निरीक्षक (सई) तथा प्रहरी सहायक निरीक्षक (असई) लाई समान २५ प्रतिशत व्यवस्था गरेको छ । जसअनुसार प्रहरी निरीक्षकले पाउँदै आएको ३० हजार ५ सय आधारभूत तलबमा २० प्रतिशतले बढ्दा ६ हजार १ सय रुपैयाँ थप वृद्धि हुनेछ ।

त्यस्तै, प्रहरी नायब निरीक्षक (सई) को हालको तलब २३ हजार ५ सयमा २५ प्रतिशतले भत्ता वृद्धि हुँदा उनले ५ हजार ८७५ रुपैयाँ थप पाउनेछन् भने सहायक निरीक्षकको २२ हजार १४० तलबमा ५ हजार ५३५ रुपैयाँ अतिरिक्त भत्तास्वरूप थप पाउनेछन् ।

त्यस्तै, जवान र कार्यालय सहयोगीलाई ३५ प्रतिशत प्रोत्साहन भत्ता दिन सिफारिस गरिएको छ । यससँगै प्रहरी हबल्दारले १८ हजार ३४० तलबसहित ६ हजार ४१९ प्रोत्साहन भत्ता पाउनेछन् भने प्रहरी जवानले १७ हजार २३० तलबसहित ६ हजार ३० र कार्यालय सहयोगीले १६ हजार २३० तलबसहित ५ हजार ६८० प्रोत्साहन भत्ता पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *