सिओल
दक्षिण कोरियाले सबै विदेशी आगमनका लागि १० दिनको अनिवार्य क्वारेन्टाइन नियममा थप कडाई गर्दै जनवरी ६ तारीखसम्म लम्ब्याएको छ।
सरकार र केन्द्रीय रोग नियन्त्रण मुख्यालयले कोभिड-१९ को ओमिक्रोन भेरियन्टको फैलावट विरुद्ध लड्ने उपायहरूबारे छलफल गर्न मङ्गलबार बसेको बैठकले यस्तो घोषणा गरेको हो।
साथै बैठकले दक्षिण अफ्रिकालगायत ११ अफ्रिकी देशहरूसँग थप तीन हप्ताका लागि प्रतिबन्ध कायम राख्ने जनाएको छ।
कोरियाले अध्यागमन र सबै अन्तर्राष्ट्रिय आगमनहरूलाई 10 दिनको लागि क्वारेन्टाइनमा राख्न डिसेम्बर १६ तारीखको समय तोकेको थियो।भोलि बिहीबार सकिने उक्त समय लम्ब्याएर जनवरी ६ तारीख सम्म बढाउने निर्णय गरेको कोरियाली अधिकारीलाई उद्रित गर्दै संचारमाध्यमहरुले जनाएका छन।
ओमिक्रोन तुलनात्मक रूपमा छिटो फैलिने र विश्वव्यापी रूपमा यसको फैलावटको अतिरिक्त जानकारीको अभाव ध्यानमा राख्दै विस्तार गरेको एक अधिकारीले बताए।
अधिकारीले भने “क्वारेन्टाइन बस्दा कोरियाली नागरिक र लामो समय कोरियामा बस्ने भिसामा रहेका विदेशीहरूलाई घरमा अलग्गै बस्न अनुमति दिइने छ। तर ९० दिन वा सोभन्दा कम बस्ने अनुमति भएका विदेशीहरूले सरकारले तोकेको अस्थायी आवासीय सुविधामा क्वारेन्टाइनमा बस्नुपर्नेछ।”
विदेशबाट आउने यात्रीहरुले ३ वटा पिसिआर(PCR) परीक्षणहरू अनिवार्य गर्नुपर्ने नियम छ- प्रवेश गर्नु अघि, प्रवेश पछि पहिलो दिन, र क्वारेन्टाइन सकिने दिन अर्थात १०औ दिनमा।
त्यस्तै सिंगापुर र उत्तरी मारियाना टापुहरू जस्ता ट्राभल-बबल सम्झौतामा हस्ताक्षर गरेका क्षेत्राधिकारबाट आएका मानिसहरूले पूर्ण खोप सहित रिपोर्ट नेगेटिभ आएमा क्वारेन्टाइनबाट छुट दिइने बताइएको छ।
पर्यटन भिसामा आउने र प्रतिबन्धित ११ अफ्रिकी देशहरू दक्षिण अफ्रिका, नाइजेरिया, घाना, जाम्बिया, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी (पहिले स्वाजिल्याण्ड), मोजाम्बिक र मलावी बाट आउने विदेशीहरूलाई जनवरीसम्म कोरिया प्रवेश निषेध गरिएको छ ।