भिसा दुरूपयोग गरी गैरकानुनी तवरबाट अकुत सम्पत्ति आर्जनको अभियोगमा चिनियाँ नागरिकमाथि छानबिन

मुख्य समाचार

काठमाडौं : भिसा दुरूपयोग गरी गैरकानुनी तवरबाट अकुत सम्पत्ति आर्जनको अभियोगमा ४ जना चिनियाँ अनुसन्धानको दायरामा तानिएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपालमा बसेर गैरकानुनी ढंगमा व्यापार/व्यवसाय गरी अकुत सम्पत्ति जोडेको आरोपमा उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

उनीहरू कहिले व्यापारिक त कहिले पर्यटक भिसामा बस्दै आएको अनुसन्धानबाट देखिएको छ। व्यापार र पर्यटक भिसामा नेपाल आउजाउ गर्दै आएका ती चिनियाँ अवैध कारोबारमा संलग्न भएको उजुरी परेपछि विभागले छानबिन थालेको हो। उनीहरूले खासगरी सुन र अमेरिकी डलरको अवैध कारोबार गरिरहेको तथ्य फेला पारेपछि विभागले शुक्ष्म अनुसन्धान गरेको हो।

व्यापारिक र पर्यटक भिसामा बसेका धेरै विदेशीले अवैध गतिविधि गर्दै आएका छन्। विभागले यतिबेला उनीहरूको नेपाल बसाइ, व्यापारिक साझेदार र अन्य अवैध सम्पर्कबारे अनुसन्धान गरिरहेको छ। ‘ती चिनियाँ भिसा दुरूपयोग गरी अवैध कारोबारमा संलग्न भएको देखिएको छ’, विभागका एक वरिष्ठ अधिकारीले भने, ‘सुन, डलरलगायत अवैध कारोबारमा अनुसन्धान भइरहेको छ।’ उनीहरू त्यस्तै कारोबारका लागि बारम्बार उपत्यका बाहिरसमेत जाने गरेको पाइएको छ।

विभागले अनुसन्धानकै क्रममा रहेकाले चिनियाँहरूको नाम गोप्य राखेको छ। जी २६३०७४५३, जी ५००२५७२५, ई १९३८८४४३ र जी ४२२३७००३ नम्बरका राहदानीवाहक चिनियाँमाथि छानबिन गरिरहेको स्रोतले जानकारी दिएको छ।

विभागले उनीहरूसँग कारोबार गर्दै आएका केही नेपालीमाथि समेत छानबिन गरिरहेको छ। नेपाली व्यापारीसँग पनि उनीहरूको कनेक्सन देखिएको स्रोतले दाबी गरेको छ। अनुसन्धान दायरामा तानिएलगत्तै विभागले गृह मन्त्रालयलाई उनीहरूको यात्रामा प्रतिबन्ध लगाउन पत्राचार गरेको छ।

गृह मन्त्रालयले उनीहरूलाई यात्रा गर्न नदिन त्रिवि अध्यागमन कार्यालयमा नाम र राहदानी नम्बरसहित पत्राचार गरेको छ। स्रोतका अनुसार अनुसन्धान भइरहेकामध्ये ३ चिनियाँ यतिबेला चीनमा छन् भने एक जना नेपालमै छन्। उनीहरूमध्ये २ जनालाई पहिल्यै कालोसूचीमा राखे पनि नयाँ राहदानीमा आउजाउ गरेको पाइएको छ। विभागका कर्मचारीले अनुसन्धानकै क्रममा रहेकाले उनीहरूबारे केही भन्न नमिल्ने प्रतिक्रिया दिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फागुन १३ गते गैरकानुनी स्रोतबाट सम्पत्ति आर्जन गरेका चिनियाँ नागरिक ली सिओफेङविरुद्ध विशेष अदालतमा अभियोगपत्र पेस गरेको थियो। उनी राहदानी र भिसाबिनै बसेर अवैध कारोबार गरिरहेका थिए। प्रहरीले उनको साथबाट अवैध आर्जन गरेको १ करोड ३० लाख रुपैयाँसमेत बरामद गरेको थियो। विभागको अनुसन्धानबाट उनले नेपालमा अवैध सम्पत्ति आर्जन गरेको पुष्टि भएको थियो।

अध्यागमन कानुन उल्लंघन गरी नेपाल बस्दै आएका केही चिनियाँले विदेशी मुद्रा र सुनलगायतको अवैध कारोबारबाट अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ। विदेशीमाथि प्रभावकारी अनुगमन संयन्त्र नहुँदा नेपाल बसाइका क्रममा उनीहरूके गर्छन् यकिन जानकारी गृह मन्त्रालयसँग हुँदैन। प्रभावकारी अनुगमन नहुँदा विदेशीले भिसा दुरूपयोग गरी गैरकानुनी गतिविधिसमेत गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *