दक्षिण कोरियामा बिरालोका कारण १०० बढी घरमा आगलागी

कोरिया समाचार

सिओल

दक्षिण कोरियामा देशभर भएका १०० बढी आगलागीका घटना बिरालोका कारण सुरु भएको पत्ता लागेपछि घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेतावनी दिइएको छ ।

सोउल मेट्रोपोलिटनको आगजनी तथा प्रकोप विभागका अनुसार बिरालोकै कारण यस वर्ष १०७ घरमा आगलागी सुरु भएको हो । बिरालोले विद्युतीय स्टोभहरू स्वीच अन गरेर आगलागी सुरु गर्ने गरेको विभागको भनाइ छ ।

बिरालोहरूले संवेदनशील टच बटनमाथि उफ्रिएर स्वीच अन गर्दिन सक्छन् । त्यसो गर्दा उपकरण ‘ओभरहिट’ भई आगो लाग्न सुरु हुन्छ ।

ती सबै आगजनीमा थुप्रै मानिस घाइते भएका छन् । तीमध्ये आधाभन्दा बढी घटनामा घर मालिक बाहिर गएका बेला यस्तो दुर्घटना हुने गरेको पाइएको छ ।

विभागका अधिकारी छङ ग्यो–छल भन्छन्, “बिरालोले सुरु गरेको आगजनी निरन्तर बढिरहेको अवस्था छ । त्यसैले हामी घरपालुवा जीवजन्तु पालेका सबैलाई आफ्नो ‘पेट’प्रति अतिरिक्त ध्यान दिन सुझाव दिन्छौँ । किनकि, घरमा कोही नभएका बेला आगलागी व्यापक रूपमा फैलने खतरा हुन्छ ।”

त्यस्तै, विभागले छिट्टै आगो लाग्ने वस्तुहरू जस्तै : पेपर टावललगायतलाई स्टोभबाट सधैँ टाढा राख्न पनि भनेको छ । त्यस्तै, विद्युतीय स्टोभको प्रयोग गर्दा अटोमेटिक लक फंसन राख्न भनेको छ ।

विशेषगरी राजधानी सोउलमा आगजनीका घटना एकदमै बढिरहेको बताइएको छ । सन् २०१९ मा मात्र जनवरीदेखि सेप्टेम्बरमा ३१ घरेलु आगजनीमध्ये अधिकांश बिरालोका कारण सुरु भएको पाइएको थियो ।

वास्तवमा यो समस्या दक्षिण कोरियामा मात्र सीमित नभएर अरू मुलुकहरूमा समेत बढ्दै गएको पाइएको छ । अमेरिकन ह्युमेन एसोसिएसनका अनुसार अमेरिकामा मात्र हरेक वर्ष एक हजार बढी घर आगजनीका घटनामा घरपालुवा जीवजन्तु नै जिम्मेवार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *